आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

डिभिजन २: युएई दोस्रो स्थानमा उक्लियो

दुबई । पपुवा न्यु गिनी (पिएनजी) लाई सात विकेटले पराजित गरेसँगै सयुक्त अरब इमिरेट्स (युएई) आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को दोस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै १५ खेलबाट १८ अंक जोडेको युएई तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । तालिकाको पुछारमा रहेको पिएनजीले १२ खेल खेल्दासम्म पनि खाता खोल्न सकेको छैन ।

शारजाह क्रिकेट मैदानमा एक सय ७७ रनकाे लक्ष्य युएईले ४४.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायाे ।

युएईकाे जितमा आसिफ खानले सर्वाधिक अविजित ८१ रन बनाउँदा चुन्डनगाम्पोयिल रिजवानले २६ रन बनाए । त्यसअघि भ्रित्या अरविन्द ४० र मुहम्मद वसिम २२ रन बनाई पभेलियन फर्किएका थिए ।

पिएनजीका चाड सोपेरले दुई विकेट लिँदा नोर्मन भेनुआले एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७६ रनको योगफल खडा गरेको थियो ।

पिएनजीका कप्तान असद भालाले सर्वाधिक ४६ रन बनाए । उनले ७२ बलमा तीन चौका प्रहार गरे ।

यस्तै, चार्ल्स एमिनीले २३, चाड सोपेरले १८ र लेजा सिएकाले १७ रन बनाए ।

युएईका बसिल हमेदले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा एक मेडनसहित १९ रनमात्र खर्चिए ।

यसबाहेक, अहमेद राजाले दुई विकेट लिँदा जहुर खान र जुनैद सिद्दिकीले एक विकेट हात पारे ।

विश्वकप क्रिकेट लिगमा आठ खेलबाट आठ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।