ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

जितबाट हामी धेरै खुशी छैनौंः कप्तान सन्दीप

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले शुक्रबार ओमानविरुद्ध जित निकाले पनि त्यसबाट धेरै खुशी नमिलेको प्रतिक्रिया दिएका छन् ।

‘अझै पनि हामी धेरै खुशी छैनौं । हामीले योभन्दा पनि हामी राम्रो गर्न सक्थ्यौ,’ उनले भने, ‘धेरै कुराहरु सुधार्न बाँकी छ । अब कुनै गल्तीहरु गर्ने ठाउँ बाँकी छैन । त्यसैले ब्याटिङ र बलिङमा सुधार गर्न बाँकी छ । तर, सय रनले जिते नि त्यो भन्दा कमले जिते पनि जित जित नै हुन्छ । दुई अंकले धेरै सहयोग हुन्छ । आउँदो खेलमा आज भएका गल्तीलाई सुधार गर्नेछौ ।’

ओमानमा जारी आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले पहिलो खेलमा घरेलु टोलीलाई ३९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । यसअघि नेपालले क्वालिफायर्सको तयारीका लागि खेलेको चार देशीय ट्वान्टी श्रृंखलामा ओमानलाई ६ विकेटले हराएको थियो । जसका कारण ओमानविरुद्धको जित डिफेन्ड गर्न सक्नेमा आफू आशावादी रहेका लामिछानेले बताए ।

‘मजाले डिफेन्ड गर्न सक्छौं भन्ने चै थियो । तर एक सय १७ मा हामीलाई गाह्रो हुने भए पनि ओमानलाई सहज छैन भन्ने थियो,’ सन्दीपले भने, ‘हामीसँग राम्रा बलरहरु छन् । त्यसैले सबै कुरालाई सिम्पल लिएको थिए । हामीले हिम्मत नहारी राम्रो प्रदर्शन गर्यौं ।’

टिमवर्क गर्दा नै ओमानीविरुद्ध जित निकाल्न सकेको सन्दीको भनाई छ ।

‘जितेन्द्र दाईको ब्रिलियन्ट एफर्ट थियो । राम्रो सुरुआत थियो । फिल्डिङ राम्रो हुनुले टोली राम्रो छ भन्ने देखाउँछ । टोलीलाई जितसम्म डोहोर्याउन सबैले राम्रो प्रदर्शन गरे,’ उनले भने, ‘तर, त्यसमध्ये आज दिपेन्द्रले टोलीको लागि राम्रो गरे । केही सानोतिनो गल्ती हुनु सामान्य हो । विकेटहरु आइराख्नु एकदमै राम्रो थियो ।’

यस्तै, नेपाललाई सम्मानजक लक्ष्यसम्म पुर्याउन सुझबुझपूर्ण ब्याटिङ गर्दै म्यान अफ दी म्याच चुनिएका आरिफ शेखले टोलीले दिएको भुमिकालाई पूरा गरेको बताउँछन् ।

‘आजको विकेटमा उनीहरुको बलरले स्पिड दिएको थिएन । अर्काे खेलमा पनि जित निकाल्यौं भने हामी सेफ हुन्छौ । दोस्रो इनिङको पावर प्ले आफ्नो पक्षमा पार्ने योजना थियो,’ उनले भने, ‘टोलीले दिएको भूमिकामा खेले । हामीले चाँडै विकेट गुमायौ । लक्ष्य सानो भएकाले दुई–तीनवटा चाँडै विकेट लिनुपर्ने थियो । बलिङ राम्रो ग¥यौं । पावर प्लेमा पनि विकेट लिन सक्यौ ।’

नेपालले शनिबार दोस्रो खेलमा फिलिपिन्स र सोमबार अन्तिम खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।