बाबर आजम

बाबरले पुनः पाकिस्तानको कप्तानी गर्ने

काठमाडौं । बाबर आजमले सिमित ओभरको क्रिकेटमा पुनः पाकिस्तानको कप्तानी गर्ने भएका छन् ।

गत अक्टोबर नोभेम्बरमा सम्पन्न एक एकदिवसीय विश्वकपमा पाकिस्तानको कमजोर प्रदर्शनपछि बोर्डको दबाबमा बाबरले कप्तानी छोडेका थिए ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अध्यक्ष मोहसिन नकिवीले बाबरलाई पुनः ट्वान्टी-२० र एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरेको जानकारी दिए ।

बाबरले कप्तानी छाडेपछि पाकिस्तानका तीव्र गतिका बलर शहीन शाह अफ्रिदीले ट्वान्टी-२० र शान मसुदले टेस्ट टोलीको कप्तानी पारेका थिए ।

गत जनवरीमा अफ्रिदीको कप्तानीमा पाकिस्तानले न्युजिल्यान्डसँगको पाँच खेलको ट्वान्टी-२० शृंखला ४-१ ले गुमाएको थियो । यो नै अफ्रिदीले कप्तानी गरेको पहिलो र अन्तिम शृंखला बन्यो । 

बाबरले यसअघि ट्वान्टी २० अन्तर्राष्ट्रियका ७१ खेलमा कप्तानी गर्दा पाकिस्तानले ४२ मा जित र २३ मा हार  ब्यहाेरेकाे थियो ।

यसैगरी पाकिस्तानले एकदिवसीयमा बाबरले कप्तानी गरेका ४३ खेलमा २६ जित र १५ हारको नतिजा निकालेको थियो ।

पाकिस्तानले अब अप्रिल तेस्रो सातादेखि घरेलु मैदानमा न्युजिल्यान्डसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेल्नेछ । त्यसपछि पाकिस्तानले आयरल्यान्ड र इङ्ल्यान्डसँग पनि अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला खेल्ने तालिका छ ।