त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेपालले दियो नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको फाइनलमा नेदरल्यान्ड्ससामू १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८४ रनको योगफल तयार पार्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले ३७ बलमा तीन छक्का र एक चौकको मद्दतले सर्वाधिक ४७ रनको योगदान दिए । यसैगरी गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहितकुमार पौडेलले २५ र कुशल भुर्तेलले २० रन बनाए ।

दोस्रो विकेटका लागि आसिफ र रोहितले ५९ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि टिम भान डेर गुग्टेन, माइकल लेभिट, साइब्रान्ड एङ्गेलब्रेख्त र फ्रेड क्लासेनले समान दुई विकेट लिए ।