त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल लिग चरणमा चार अंकका दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । पाँच अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेर फाइनल पुग्यो ।

लिग चरणका सुरुआती दुई खेलमा नेपालले नामिबियासँग २० र नेदरल्यान्ड्सँग दुई रनको पराजय ब्यहोरेको थियो । पछिल्ला दुई खेलमा नेपालले नामिबियामा तीन रन तथा नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो ।

नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा ५९ रनले हराउँदा दोस्रो खेल भने वर्षाले रद्द भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच पछिल्लो पाँच मध्य तीन खेलमा नेपालले जित हासिल गरेको छ ।

नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । शनिबार लिग चरणको अन्तिम खेल खेलेकै टोली उतारिएको छ ।
 

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख,  कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अविनाश बोहोरा, आरिफ शेख