आइसिसी विश्वकप क्रिकेट लिग-२

नेदरल्यान्ड्सले दियो नेपाललाई १३८ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा  नेदरल्यान्ड्सले नेपालसामू १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रनको योगफल तयार पार्यो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्वार्डसले ३३, बास डी लिडेले २७, साइब्रान्ड एङ्गेलब्रेख्त २३, नोआ क्रसले १२, कायल केलिनले अविजित ११ र आर्यन दत्त र म्याक्स ओ'डोउडले समान १० रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले सात ओभरमा २० रन खर्चिदै चार विकेट लिए । यसैगरी ललितनारायण राजवंशीले दुई तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

नेपाल शृंखलमा पहिलो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । यता नेदरल्यान्ड्स पनि जितका साथ शृंखलाको सुरुआत गर्ने सोचमा छ ।

यी दुईबीचको पछिल्ला तीन खेलमा नेदल्यान्ड्स दुई र नेपाल एक खेलमा विजयी भएका छन् ।