ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला

न्युजिल्यान्ड र बंगलादेशबीचको दोस्रो ट्वान्टी २० रद्द

काठमडौं । घरेलु टोली न्युजिल्यान्ड र बंगलादेशबीचको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल विना नतिजा टुङ्गिएको छ । यो नतिजासँगै बंगलादेश तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । पहिलो खेलमा बंगलादेश पाँच विकेटले विजयी भएको थियो ।

माउन्ट माउन्गानुइस्थित बे ओभलमा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ११ ओभरमा २ विकेट गुमाउँदै ७२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।

त्यसपछि लगातारको वर्षाका कारण खेल सम्भव नभएपछि रद्द गरिएको हो । न्युजिल्यान्डका लागि ड्यारिल मिचेल १८ र ग्लेन फिलिप्स ९ रन बनाएर खेलिरहेका थिए । त्यसअघि टिम सिफर्टले २३ बलमा ६ चौका र १ छक्काको मद्दतले ४३ रन बनाएका थिए ।

बंगलादेशका लागि सोरिफुल इस्लाम र तान्जिम हसन साकिबले समान १ विकेट लिए । शृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।