नेपाल सुपर लिग

अस्ट्रेलियाबाट फर्किएका खेलाडीकोे प्रदर्शन यस्तो ?

काठमाडौं । दिनेश राजवंशी नेपाली फुटबलमा भविष्य नदेखेर गत वर्षमात्र अस्ट्रेलियातिर हानिएका थिए । तर, अस्ट्रेलिया पुगेको एक वर्ष नबित्दै फेरि उनलाई नेपाली फुटबलले डोहोर्याएर ल्यायो । दिनेश तानिएका थिए त फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) का लागि । पोखरा थन्डर्सको आइकोनिक खेलाडी हुँदै दशरथ रंशगालाको मैदानमा फर्किएका दिनेश टोलीलाई कप्तानी नेतृत्व पनि दिएका थिए ।

दिनेशको पुनरागमन उत्साही टोली पोखराका लागि प्ररेणास्रोत बन्न पुग्यो । उनको नेतृत्व र प्रभावशाली प्रदर्शनकै कारण पोखराले क्वालिफायरको यात्रा सहजै तय गरेको थियो । टोली लिग चरणको अंकतालिकामा पहिलो स्थानमा रह्यो ।

पहिलो क्वालिफायरमा पोखराले साबिक उपविजेता धनगढी एफसीविरुद्ध तीन पटक अग्रता लियो । निर्धारित र अतिरिक्त समयमा अग्रता लिएको पोखराले टाइब्रेकरमा पनि अग्रताका बावजुत खेल गुमाएको थियो । अन्तिममा धनगढीले बाजी मार्न पुग्यो ।

दोस्रो क्वालिफायरमा पनि पोखरा अभागीशाली बन्यो । पहिलो हाफ सकिन १२ मिनेट बाँकी छँदा १० खेलाडीमा समेटिएको ललितपुरसँग पोखराले २–१ ले खेलपछि दोस्रो अवसरमा पनि फाइनलमा स्थान बनाउन सकेन ।

अस्ट्रेलियाबाट आइकोनिक खेलाडीका रूपमा नेपाल फर्कने दिनेश एक्ला नाम होइनन् । उमेर समूह र राष्ट्रिय टोलीमा सँगै खेलेका सहकर्मीद्वय विमल घर्तीमगर र तेज तामाङ अनि अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गरिसकेका आशिष लामा फर्कने अन्य नामहरू हुन् ।

सुनौलो भविष्यको खोजीमा गत वर्षमात्र करिब एक सय जति राष्ट्रिय खेलाडी विदेश पलायन भए । यसरी एकाएक अस्ट्रेलिया र अन्य खाडी मुलुकको बाटो तताँउदा नेपाली फुटबलले शीर्ष खेलाडीहरू गुमाएको थियो । तर, एनएसएलले कम्तीमा चार खेलाडीलाई नेपाल फर्कायो । यिनै खेलाडीहरू प्रेरित टिमसहित ९ टिम महिना दिन दशरथ रंगशालामा प्रतिस्पर्धी रहे ।

विमल केही महिनाअघि मात्र अस्ट्रेलिया पुगेका थिए । जतिबेला उनलाई ललितपुरले मार्की खेलाडीका रूपमा क्लबमा अनुबन्ध गरेको समाचार बाहिरिइसकेको थियो । तर, एनएसएलको पूर्वसन्ध्यामा अस्ट्रेलिया पुगेका विमललाई केही दिनमै चितवनले आइकोनिक खेलाडी बनाएर अनुबन्ध गर्यो ।

राष्ट्रिय टोलीका पूर्वगोलकिपर विशाल श्रेष्ठ मार्की खेलाडी रहेको चितवन तालिकाको सातौं स्थानमा रह्यो । दुई खेलमात्र जित्न सफल चितवनका लागि विमलले एक गोल गरेका थिए ।

फरवार्ड विमल नेपाली फुटबलमा गोल्डेन ब्वाइका रूपमा परिचित छन् । अहिले पनि विमलको खेल हेर्न समर्थक रंगशाला ओइरिन्छन् । जुन एनएसएलमा पनि देखियो । मिडफिल्डर तेजलाई वीरगन्ज युनाइटेड एफसीले भित्र्याएको थियो । अर्का गोलकिपर दीप कार्की मार्की खेलाडी रहेको वीरगन्ज सबैभन्दा कम अंक जोड्ने टोलीमा रह्यो ।

पुछारका स्पोर्टिङ इलाम एफसी र वीरगन्ज  लिग चरणमा ८ अंकमा जोड्न सफल भएका थिए । अन्तिम खेलमा एफसी बुटवल लुम्बिनीलाई हराउन सकेको भए वीरगन्जले प्लेअफमा स्थान बनाउन सक्थ्यो । तर, अन्तिम खेलमा वीरगन्जले १–० को झिनो हार सामना गर्नुपर्यो । जसका कारण ललितपुरले प्लेअफमा स्थान बनायो । ललितपुरले इलिमेटरमा काठमाडौं रेजर्सलाई ३–० र क्वालिफायर २ मा पोखरा थन्डर्सलाई २–१ ले हराएर फाइनल नै तय गरेको छ ।

अस्ट्रेलिया जानुअघि तेज राष्ट्रिय टोलीका नियमित सदस्य थिए । तर, उनले अस्ट्रेलियाको बाटो तताएपछि नेपाली फुटबलमा सेन्ट्रल मिडफिल्डमा स्तरीय खेलाडीको खडेरी जस्तै लागेको छ ।

फरवार्ड आशिष लामाले बुटवल–लुम्बिनीको प्रतिनिधित्व गरेका थिए । समान १० अंक भए पनि बुटवल गोल भिन्नताका आधारमा ललितपुर सिटीभन्दा पछाडि रह्यो । बुटवलको जर्सीमा आशिषले गोल गर्न भने सकेनन् । मैदानमा उनको प्रदर्शन आशाअनुरुप देखिएन ।

विदेशबाट फर्केका दिनेशबाहेक अन्य खेलाडीको प्रदर्शन फितलो रह्यो भन्दा फरक पर्दैन । भलै, यी खेलाडीको उपस्थितिमा नेपाली समर्थकहरू रमेको होस् । दिनेशबाहेक अन्य खेलाडीको प्रदर्शन सोचेअनुरुप किन भएन, के भयो त ?

यसपालि नेपाल सुपर लिगमा एकाध नेपाली खेलाडीबाहेक अरूले मैदानमा प्रभुत्व जमाउनै सकेनन् । ललितपुरका दिनेश हेन्जन र विवेक पौडेल, इलामका सन्तोष खत्री, धनगढीका देवेन्द्र तामाङबाहेक अन्य खेलाडीहरू हाइलाइटमा आउन सकेनन् ।

विदेशी खेलाडीको प्रदर्शनले यसपालि नेपाली खेलाडीहरू छायाँमा परे । एनएसएल आयोजकले यसपालि ५ विदेशी खेलाडी खेलाउन पाउने नियम ल्याएको थियो । त्यसैले पनि नेपाली खेलाडी मैदान त्यति छाउन पाएनन् । उच्च गोलकर्ता र क्लिनसिटमा विदेशी खेलाडी अगाडि रहे । नेपालका शीर्ष खेलाडीको विदेश पलायनले यस्तो भएको बुझ्न कुनै कठिन हुँदैन । जुन आउने दिनमा नहोला भन्न सकिन्छ । एनएसएल चलिरहँदै तेजका नजिकका साथी भन्दैथिए, ‘तेज एनएसएललगत्तै अस्ट्रेलिया फर्कन्छन् । नेपालमा बसेर पनि के गर्नु । फुटबल राजनीतिले थला परेको छ । धन्न, एनएसएल भयो ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)ले तेज र दिनेश जस्ता खेलाडीहरू विदेसिन नदिन अहिलेदेखि नै पहल थाल्नुपर्ने हो । तर, त्यो अवस्थामा एन्फा देखिँदैन । आन्तरिक शक्तिसंघर्षमै एन्फा पदाधिकारी अल्मलिएका छन् । तेजका साथीले भनेजस्तै नेपाली खेलाडीको विदेश पलायनको लहर टुंगिने छाँट छैन । आगामी दिनमा पनि मैदानमा नेपालका स्तरीय खेलाडी र उनीहरूको प्रदर्शन खट्किनेमा कुनै दुईमत नहोला ।