त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

त्रिकोणात्मक शृंखलाः नेपालको विजयी सुरुआत

काठमाडौं । युएईलाई सात विकेटले स्तब्ध बनाउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले विजयी सुरुआत गरेको छ ।

मुलपानी क्रिकेट रंगशाला (माथिल्लो) मा बुधबार युएईले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३० बलमा पाँच चौकाको मद्दतले अविजित   ५१ रन बनाए । यसैगरी दीपेन्द्रसिंह ऐरीले अविजित ३४,आसिफ शेखले २३, कुशल भुर्तेलले १४, कुशल मल्लले ११ रन बनाए ।

चौथो विकेटका लागि रोहित र दीपेन्द्रले अविजित ९३ रनको साझेदारी गरेका थिए ।

युएईका लागि निलान्श केसवानी र अलीनासरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो ।

युएईका लागि बसिल हमिदले ३८ बलमा चार छक्का र एक चौकाको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी अली नासिरले ३२, कप्तान मोहम्मद वासिमले १७ र आसिफ खानले १५ रन बनाए । 
पाँचौं विकेटका लागि हमिद र नासिरले ५६ रनको साझेदारी गरे ।

नेपालका लागि करण केसीले तीन, गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक विकेट लिए ।

यही खेलमार्फत लेग स्पिनर श्याम ढकाल (मौसम) ले राष्ट्रिय टोलीबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् ।

अब नेपालले बिहीबार हङकङसँग खेल्नेछ ।