एपेक्स कप क्रिकेट

एपेक्स कप क्रिकेटः सेमिफाइनल समिकरण पूरा

फाेनिक्स कलेज

काठमाडौं । एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।  मुलपानी क्रिकेट रंगशाला (तल्लो) मा आइतबार क्वार्टरफाइनलका अन्तिम २ खेल सम्पन्न हुँदा फोनिक्स र काठमाडौं विश्वविद्यालय विजयी भएका छन् । 

दिनको पहिलो खेलमा फोनिक्सले रत्नराज्यलक्ष्मी (आरआर) कलेजलाई ७ विकेटले पराजित गरेको थियो । आरआरले प्रस्तुत गरेको ४२ रनको लक्ष्य फोनिक्सले ७.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । फोनिक्सका लागि समिर विष्टले अविजित १७ र लक्की कडायतले १३ रन बनाए । 

आरआरका लागि यमन जोशीले २ र कृष्ण परियारले १ विकेट लिए । 

त्यसअघि पहिला ब्याटिङ गरेको आरआरले १३.१ ओभरमा सबै विकेट गुमाउँदै ४१ रनको योगफल तयार पारेको थियो । आरआरका लागि राजकुमार श्रेष्ठले २५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

फोनिक्सका लागि किरण चन्दले ४, कृष अय्यरले २ र रविन्द्र भुषालले १ विकेट लिए । 

दिनको दोस्रो खेलमा काठमाडौं विश्वविद्यालयले लिभरपुल कलेजलाई ७ विकेटले नै पराजित गर्यो । लिभरपुलले प्रस्तुत गरेको ५७ रनको लक्ष्य  काठमाडौंले ११.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । काठमाडौंका लागि शास्वत पौडेलले २१, विशाल देवकोटाले १८ र सुशान्त पौडेलले १३ रन बनाए । 

लिभरपुलका लागि विशाल केसीले २ र छुनछुन यादवले १ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको लिभरपुलले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल तयार पारेको थियो ।  लिभरपुलका लागि सुजित यादवले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका लागि सितल न्यौपानेले ३, आशिष चौलानीले २ र सार्थक न्यौपानेले १ विकेट लिए ।

यसअघि शनिबार केसीएमआइटीले  सेन्ट जेभियर कलेजलाई ३ विकेट तथा ब्लुबर्डले पाटन मल्टिपल क्याम्पसलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।