इपिएल

सर्वोच्चमा विचाराधिन मुद्दा फिर्ता लिन र हिसाब मिलान गर्न अख्तरलाई ६ फ्रेन्चाइज टोलीको पत्राचार

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) का ६ फ्रेन्चाइज टोलीका मालिकहरुले एभरेस्ट प्रिमियर लिग प्रा.लिका प्रबन्ध निर्देशक आमिर अख्तरलाई सर्वोच्च अदालतमा विचाराधिन मुद्दा फिर्ता  लिन र यथाशिघ्र आफूहरुले पाउनु पर्ने रकम उपलब्ध गराउन आग्रह गरेका छन । 

इपिएलमा सहभागी ललितपुर पेट्रियोट्स,काठमाडौं किंग्स ११,चितवन टाइगर्स,विराटनगर वारिर्यस, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोजका मालिकले संयुक्त हस्ताक्षर गर्दै हिसाब मिलान गर्न अख्तरलाई पत्राचार गरेका हुन ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई ब्यावसायिक पार्टनरको रुपमा भित्राएसँगै अख्तरले सो कम्पनी बेटिङमा संलग्न रहेको भन्दै क्यान र राखेपलाई विपक्षी बनाई सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

क्यानले अन्य फ्रेन्चाइज लिगलाई आयोजना अधिकार नदिने र आफै नेपाल टि२० लिग आयोजना गर्ने निर्णय गरेसँगै इपिएलको आयोजना अन्योलमा परेको थियो ।

यद्धपी केही खेलाडी स्पट फिक्सिङमा संलग्न भएको र सम्झौता अनुरुपको रकम नपाएका कारण नेपाल टी२० विवादरहित भने रहेन । क्यानले ८ वर्षका लागि सेभेन थ्री स्पोटर्ससँग गरको सम्झौता रद्द भैसकेको छ । 

‘एभरेस्ट प्रिमियर लिग प्रा.लि ले विभिन्न समयमा इपिएल ट्वान्टी२० क्रिकेटको आयोजना गरेको थियो र सो कार्य सरहानिय थियो,’ पत्रमा उल्लेख गरिएको छ,'यहाँ निवेदक भइ राष्ट्रिय खेलकुद परिषद् (राखेप) समेतलाई विपक्षी प्रत्यर्थी बनाई सर्वोच्च अदालतमा जहाँ जो जे मुद्दा दायर गरि हालसम्म विचाराधिन अवस्थामा रहेको कुरा बुभिन आएकोले यहाँले जे जति मुद्धा गरि कानुनी कारबाही गरि आउनु भएको छ सो कुरा पूर्णको जानकारी यहाँलाई नै होला । यहाँले जे  जती मुद्दा मामिला दायर गर्नु भएको छ ती मुद्दा मामिला यथाशिघ्र फिर्ता दिइ समय सुलभ बनाई दिन हुन अनुरोध छ । यहाँसँग भएको करार सम्झौता अनुसार एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सहभागी क्लबहरुले पाउनु पर्ने प्रतियोगिता अबधीभरको गेट टिकेट र ब्रोडकास्टिङवापतको करार बमोजिम हुन आउने रकम हालसम्म यहाँले उपलब्ध नगराएको हुँदा यथाशिघ्र उपलब्ध गराई हिसाब मिलान हुन समेत यसै पत्रमार्फत अनुरोध गर्दछौ ।'