आइसिसी विश्वकप छनोट प्ले अफ

क्यानाडामाथि नामिबियाको सहज जित

काठमाडौं । घरेलु टोली नामिबियाले आइसिसी पुरुष विश्वकप छनोटको प्ले अफ अन्तर्गत मंगलबारको खेलमा क्यानाडामाथि एक सय ११ रनको फराकिलो जित निकालेको छ ।

यस जितसँगै नामिबियाले पाँच खेलमा ६ अंक जोड्दा पराजय ब्यहोरेको क्याननडाको चार खेलमा चार अंक छ ।

विन्डहोकस्थि वान्डरर्स क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको दुई सय ६८ रनको लक्ष्य पछ्याएको क्यानाडा ४२.२ ओभरमा एक सय ५६ रनमै समेटियो ।

क्यानाडाका लागि रवीन्द्रपाल सिंह र प्रगत सिंहले समान ३४, म्याथ्यु सोपर्सले ३२ र आरोन जोनसनले १५ रन बनाए ।

नामिबियाका लागि कप्तान जेरार्ड, बेर्नार्ड स्कोल्ट्ज र पिक्की या फ्रान्सले समान दुई तथा बेन शिकोन्गो रुवेन ट्रम्पलम्यान र शन फोउचले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको नामिबियाले निर्धारित ५० ओभरमा नौ  विकेट गुमाउँदै दुई सय ६७ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका लागि शन फोउचले एक सय सात बलमा सात चौका र एक छक्काको मद्दतमा सर्वाधिक ८३ रन बनाए । यसैगरी जान ग्रिनले ४५, निकोलस डेभिनले ४०, पिक्की या फ्रान्सले अविजित ३४, लोफ्टी इएटनले १८ र कप्तान जेरार्ड इरस्मसले १४ रन जोडे ।

पहिलो विकेटका लागि फोउच र डेभिनले ६३ रनको साझेदारी गरेका थिए ।

क्यानाडाका लागि कलिम साना र हर्ष थकरले समान दुई तथा जेरिमी गोर्डन, डिलोन हेलिगर, कप्तान साद बिन जफर र निखिल दत्तले समान एक विकेट लिए ।