आइसिसी लिग टु

युएईले दियो नेपाललाई दुई सय आठ रनको लक्ष्य

काठमाडौँ । आसिफ खान र रोहन मुस्ताफाको अर्धशतकप्रेरित घरेलु टोली युएईले आइसिसी विश्वकप क्रिकेटको लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालसामू दुई सय आठ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

दुबई अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय सात रनको योगफल तयार पारेको थियो ।  

युएईको लागि आसिफले ९९ बलमा पाँच चौका र तीन छक्काको मदतमा सर्वाधिक ७२ रन जोडे । यसैगरी मुस्ताफाले ७६ बलमा दुई चौकको मद्दतमा अविजित ५२, आर्यन लाक्रराले २८, कप्तान सिपी रिजवानले २२ र वृत्य अरविन्दले १८ रन  बनाए ।

मुस्तफा र लाक्रराले छैटौँ विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

नेपालका सन्दिप लामिछानेले तीन तथा करण केसी, आरिफ शेख र कुशल मल्लले समान एक विकेट लिए ।

नेपाल लिग टु का पछिल्लो पाँच खेलमा अपराजित रहँदै आएको छ । घरेलु मैदानमा गत साता सम्पन्न स्कटल्यान्ड र नामिबियासम्मेलित त्रिकोणात्मक शृंखलाका चार वटै खेल जितेको नेपालले युएई भ्रमणको पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई चार विकेटले हराएको थियो ।

यता युएई भने पहिलो खेलमै पिएनजीसँग एक सय ३१ रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यसैले युएईमाथि जितको दबाब हुनेछ ।

नेपाल २९ खेलमा २८ अंकसहित छैटौं स्थानमा छ भने समान खेलमा २९ अंक जोडेको युएई पाँचौ स्थानमा छ । आज युएईलाई हराएमा नेपाल पाँचौ स्थानमा उक्लिनेछ ।

 लिग टुका सबै खेल खेल्दै ५० अंकका साथ शीर्ष स्थान तथा ४४ अंकसहित दोस्रो स्थानमा  रहेका  स्कटल्यान्ड र ओमानले विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । तेस्रो स्थानको टोलीले पनि विश्वकप छनोट खेल्ने भएकाले त्यसका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् ।

तेस्रो स्थानको नामिबियाको ३९, पाँचौ स्थानको अमेरिकाको ३५ र सातौं स्थानको पपुवा न्युगिनीको ३० खेलमा  सात अंक छ । नामिबिया र अमेरिकाले पनि लिगका सबै खेल खेलिसकेका छन् । पिएनजीले ६ तथा नेपाल र युएईले समान सात खेल खेल्न बाँकी छ ।