इपिएलको चौथो संस्करण आज, काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं, (खेलाडी)-  कोभिड १९ महामारीका कारण रोकिएको एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण आजबाट सुरु हुँदैछ  ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौँ किग्स इलेभन र ललितपुर पेट्रियट्सबीचको खेलसँगै इपिएलको चौथो संस्करणको प्रतिक्षामा पूर्णविराम लाग्नेछ ।
प्रतियोगितामा काठमाडौं र ललितपुरसहित विराटनगर वारियर्स,पोखरा राइनोज,भैरहवा ग्याडियटर्स र चितवन टाइगर्स रहेका छन् ।

सन् २०१८ मा भएको इपिएलको तेस्रो संस्करणपछि पटक पटक प्रतियोगिताको मिति सार्वजनिक भएपनि विभिन्न कारणले प्रतियोगिता सुरु हुन सकेको थिएन । सन् २०१९ को अन्त्यमा चीन वुहानबाट सुरु भएको कोभिड १९ महामारीका कारण सन् २०२० मा प्रतियोगिताको मिति दुई दुई पटक तय भएपनि अवस्थ असामान्य बनेपछि हुन सकेन । 

कोभिड १९ महामारीका कारण सन् २०२० अप्रिलका लागि तय इपिएलको चौथो संस्करण आयोजना भएको भए विश्व क्रिकेटका युनिभर्सल बोस वेस्ट इन्डिजका ओपनर क्रिस गेलको खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हेर्ने सपना साकार हुने थियो । गेलले पोखरा राइनोजबाट खेल्ने तय भइसकेको थियो ।

अन्ततः लामो समयको प्रतिक्षापछि प्रतियोगिताको चौथो संस्करण सुरु हुदैछ । इन्डियन प्रिमियर लिग र ट्वान्टी२० विश्व्कपका कारण गेलले यस पटक पनि देखिने छैनन् ।

लामो समयको पर्खाईपछि नेपाली क्रिकेट समर्थक त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फर्कदा उनीहरुले  नेपालका केही  स्टार क्रिकेटरहरु देख्ने छैनन् ।

करिब दुई महिना अघि मात्र अन्तरौष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका पूर्व कप्तान पारस खड्काले यसअघि नेै इपिएल नखेल्ने घोषणा गरिसकेका छन् । त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीक कप्तान ज्ञानेन्द्र मल्लले पनि दुई दिन अघि व्यक्तिगत कारण देखाउदै इपिएलमा सहभागी नहुने जनाए । मल्लको अनुपस्थितीमा कुशल भुर्तेलले ललितपुरको नेतृत्व सम्हाल्ने छन् । 

यस्तै चोटका कारण राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले पनि यस सिजन इपिएल गुमाएका छन् । उनी काठमाडौंबाट खेल्ने तय थियो । 

नेपालका चर्चित खेलाडीको जादुमयी प्रदर्शन देख्न नपाएपनि नेपाली समर्थकले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीसहित बंगलादेशका ओपनर तमिम इकबाल, श्रीलंकाका उपुल थारांगा, सिकन्दर राजा, अज्मुतुल्ला अमरजाई र मोहम्मल सेहजादजस्ता खेलाडीको प्रत्यक्ष खेलको आनन्द दिन सक्छन् ।

काठमाडौं भर्सेस ललितपुर
इपिएलको उद्घाटन खेलमा काठमाडौं र ललितपुर आमने सामने हुँदैछन् । 

गत संस्करणको विजेता ललितपुरमा कप्तान ज्ञानेन्द्र मल्ल हुनेछैनन । उनले व्यत्तिगत करण देखाउदै प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । उनको अनुपस्थितीमा युवा ब्याटर कुशल भुर्तेलले टोलीको नेतृत्व गर्नेछन् ।

ललितपुरको प्रदर्शन कुशलको ब्याटमा निर्भेर हुनेमा शंका छैन  ।

यता राष्ट्रिय टोलीका स्पिनर सन्दिप लामिछानेको कप्तानीाम रहेको काठमाडौं पाकिस्तान विश्व विजेता खेलाडी अफ्रिदीको उपस्थितीले दरिलो मनोबलका साथ मैदान प्रवेश गर्नेछ ।

चौथो संस्करण सम्म ललितपुरले एक पटक उपाधि जित्दा काठमाडौको यात्रा भने प्लेअफबाट माथि उठ्न सकेको छैन् ।