ज्ञानेन्द्रले इपिएल नखेल्ने

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण नखेल्ने भएका छन् । 

ललितपुर प्याट्रियोटसले आज (बिहीबार) सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै क्लबका कप्तान समेत रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको जनाएको हो । ललितपुर इपिएलको साविक विजेता टोली हो । 

इपिएलको चौथों संस्करण असोज ९ गतेदेखी २३ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने तालिका छ । 

राष्टिय टोलीका पूर्व कप्तान पारस खड्काले यसअघि नै इपिएल नखेल्ने बताइसकेका छन् । यसैगरी राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण इपिएल खेल्ने छैनन् । 

पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदी, बंगलादेशका स्टार तमिम इकबाल, जिम्बाब्वेका सिकन्दर राजा, वेस्ट इन्डिजका केसरिक विलियम्स, अफगानिस्तानको मोहम्मद सहजाद, श्रीलंकाका उपुल थारंगालगायतका विश्वस्तरीय स्टार खेलाडीहरुको जमघट हुँदा नेपाली क्रिकेटका केही स्थापित नाम भने इपिएलमा नदेखिने भएका छन् ।