तस्विरः एन्फा
महिला लिग छनोट

सुदूरपश्चिमको सहज जित

काठमाडौं । एन्फा महिला लिग छनोटमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशविरुद्ध ३-० को सहज जित निकालेको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बुधबार सुदूरपश्चिमलाई जित दिलाउन अस्मिता चौधरीले दुई तथा यशोधा चिरालले एक गोल गरे ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा यथावत छ । पराजित मधेश समान खेलबाट तीन अंकका साथ चौथो स्थानमा छ ।

खेलको पाँचौं मिनेटमा यशोधाको गोलमार्फत सुदूरपश्चिमले अग्रता लिएको थियो । ५१औं मिनेटमा अस्मिताले टोलीको अग्रता दोब्बर बनाइन् ।

तस्विरः एन्फा

निर्धारित समय सकिन नौ मिनेट बाँकी छँदा अस्मिताले ब्यक्तिगत दोस्रो गोल गर्दै सुदूरपश्चिमलाई ३-० को सहज जित दिलाइन् ।

बुधबार नै सम्पन्न अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशविरुद्ध पनि ३-० को जित निकाल्यो । 

यसअघि गण्डकीलाई ५-१ ले हराएको सुदूरपश्चिम कोशीसँग २-१ ले पराजित भएको थियो । यसैगरी बागमतीविरुद्ध ४-० को सहज जित निकालेको मधेश कर्णालीसँग १-० ले निरास बनेको थियो ।