सफ्ट टेनिस

सफ्ट टेनिसमा येकेस र समृद्धिलाई स्वर्ण

पोखरा । प्रदेश एकका युकेश योन्जन र एपिएफकी संवृद्धि महर्जनले नवौं वृहत राष्ट्रिय खेलुकदअन्तर्गत सफ्ट टेनिसमा सोमबार एकलतर्फको स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशाला परिसरको टेनिस कम्प्लेक्समा सम्पन्न फाइनलमा युकेशले बागमतीका प्रदीप खत्रीलाई ४-१ ले हराउँदै उपाधिमा कब्जा जमाउँदा प्रदीपले रजत पदकमा चित्त बुझाए । यसैगरी बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज चौधरीले कांस्य पदक हात पारे ।

सेमिफाइनलमा युकेशले निर्मललाई ४-० तथा प्रदीपले सुरजलाई ४-२ को नतिजामा हराएका थिए ।

महिला एकलको फाइनलमा संवृद्धिले बागमतीकी चन्द्रमाया राईलाई ४-२ को नतिजामा हराइन । चन्द्रमायाले रजत पदक जित्दा बागमतीकी स्वस्तिका बिष्ट र प्रदेश एककी श्रेया योन्जनले कांस्य पदक जिते । सेमिफाइनलमा चन्द्रमायाले श्रेयालाई ४-१ तथा संवृद्धिले स्वस्तिकालाई ४-१ कै नतिजामा निराश पारेका थिए ।

त्यस्तै पुरुष युगलमा नेपाल पुलिस क्लबका कमल भण्डारी र नउबहादुर लुंगेली, गण्डकीका शक्ति शर्मँ र धर्मसिंह लामिछाने, बागमतीका प्रदीप खत्री र वृजेश पाण्डे तथा प्रदेश एकका आशिष बोहरा र युकेश योन्जनको जोडीले सेमिफाइनल यात्रा तय गर्दै कम्तिमा कांस्य पदक पक्का गरेका छन् ।

अन्तिम आठमा कमल र नउबहादुरको जोडीले प्रदेश एकका अश्लेष ढकाल र आभाष बुढाथोकीको जोडीलाई ५-० को नतिजामा हराएको थियो । त्यस्तै शक्ति र धर्मसिंहले सुदूरपश्चिमका रमेश पाण्डे र निरज थापाको जोडीलाई ५-१, प्रदीप र वृजेशले लुम्बिनीका सुरज चौरधी र अभिषेक झाको जोडीलाई ५-२ तथा युकेश र आशिषले लुम्बिनीका कुमार गिरी र रोशन केसीको जोडीलाई ५-१ को नतिजामा हराएका थिए ।

सेमिफाइनलमा कमल र नउबहादुरको जोडीले शक्ति र धर्म तथा प्रदीप र वृजेशको जोडीले युकेश र आशिषको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।