खेलाडी

खेलाडी डटकमको एकवर्षे यात्रा: खेलकुद भनेकै खेलाडी हो

व्यावसायिक कर्तव्य, सत्यतथ्य, निष्पक्षजस्ता पत्रकारिताका स्थापित मान्यतालाई पथप्रदर्शक मान्दै पत्रकारिता गर्ने प्रतिबद्धताका साथ सुरु भएको खेलाडी डटकमको यात्राले आज एक वर्ष पूरा गरेको छ ।

पत्रकारिताको मूल्य र मान्यता जोगाउँदै ‘डिजिटल जर्नालिजम’ को फराकिलो राजमार्गमा सवार हुन थाल्दा हामीलाई ‘पत्रकारिता क्षेत्रको यो विशाल भुमरीमा आफूलाई कसरी उभ्याउने ?’ भन्ने प्रश्नले सुरुमै सचेत बनाएको थियो । एउटा विधागत सञ्चारमाध्यमको थालनी गर्दै गरेको अवस्थामा यो प्रश्न झन गहकिलो बनेको हामीले महसुस गरेका थियौं ।

त्यसैले पनि हामीले उद्देश्य प्रस्ट बनाएका थियौं । र, मूल्य मान्यतायुक्त त्यही उद्देश्यलाई प्रतिबद्धतामा रूपान्तरित गर्यौं । पूरा समाज कोरोना भाइरस महामारीको त्रासले थिचिएका बेला हाम्रो प्रतिबद्धता पक्कै पनि चुनौतीपूर्ण थियो ।

तर, यसै क्षेत्रमा जीवन सुम्पिएका हामीले खेलकुद पत्रकारितालाई मूलधारको पत्रकारिताको रूप दिने उद्देश्यसहित ‘खेलाडी डटकम’को माध्यमबाट पाइला अगाडि बढाएका थियौं ।

नेपाली खेलकुदको वास्तविक बहुआयाम उजागर गर्ने हाम्रो उद्देश्यको अर्को पाटो थियो । सभ्य समाजका लागि खेलकुदको महत्व ठूलो हुन्छ । वास्तवमा खेलकुद स्वास्थ्यको पर्याय हो । यो मनोरञ्जन हो । शिक्षा हो । व्यापार हो । उद्योग हो । विज्ञान हो । देशको मुहार हो । र, अरू धेरै कुरा हो । समग्रमा भन्ने हो भने खेलकुद भनेको नै ‘खेलाडी’ हो, खेलाडी हो ।

‘खेलकुद भनेकै खेलाडी, खेलाडी भनेकै खेलकुद’ भन्ने मूलमन्त्र बोकेर नेपाली खेलकुदको श्रीवृद्धिमा आफूलाई पूर्णतः समर्पित गर्नुपर्ने उद्देश्यमा हामी सधैं अविचलित नै थियौं ।

हामीले खेलाडी यात्रा शुभारम्भ गर्दा नै भनेका थियौं, ‘हामी अभाव, दबाब र प्रभावको पत्रकारिता गर्दैनौं ।’

खेलकुदको फराकिलो स्वरुपलाई नियतवश वा अञ्जानमा छोपेर यसलाई आफ्नो सम्भावनाबाट च्युत गर्ने प्रयास जिम्मेवार निकाय र व्यक्तिहरूबाटै लामो समयदेखि भइरहेको तथ्य पनि सबैसामु प्रस्ट नै छ । खेलकुद क्षेत्रका यी बहुआयामिक चरित्र उजागर गर्ने प्रयास थालिरहँदा त्यस्तो भनाइ आत्मघाती हुनसक्ने सत्य पनि हामीलाई थाहा थियो ।

सँगै हामीलाई आफ्नो इमानदार र प्रतिबद्ध प्रयासमा पाठक तथा विज्ञापनदाता र नेपाली खेलकुदका अन्य सरोकारवालाबाट गँठिलो साथ र सहकार्य मिल्ने पनि थाहा थियो । त्यसैले त हामी आज चुनौती नै चुनौती भरिएको यात्रामा एक वर्षको उकाली ओराली पार गर्दा गर्व गर्ने अवस्थामा उभिएका छौं ।

पक्कै पनि ‘खेलाडी’ टिमको प्रतिबद्धतामा पाठकवर्गको माया र विज्ञापनदाताहरूको साथ नमिलेको भए ‘खेलाडी डटकम’ आजको अवस्थामा आइपुग्ने थिएन । यहाँहरूको त्यही साथ र सहयोगकै कारण हो, बितेको एक वर्षमा ‘खेलाडी’ ले आफ्नो उद्देश्यको बाटोमा अविचलित भई अगाडि बढ्न सकेको ।

दशकौंदेखि पीडित खेलाडीका सपना आफ्ना झिनामसिना स्वार्थका लागि चकनाचुर पार्न निर्लज्ज रूपमा निरन्तर लागिरहेको अधिकारप्राप्तहरूको सानो जत्थालाई खबरदारी गर्ने मामिलामा ‘खेलाडी’ सधैं खरो उत्रिएको छ । आगामी दिनमा पनि ‘खेलाडी डटकम’ को खबरदारी अझै प्रभावकारी हुने आज कोसेढुंगा छोइरहँदा वाचा गर्न चाहन्छौं हामी ।

खेलकुदलाई उद्योग बनाउने, प्रत्युत्पादक होइन, उत्पादक क्षेत्र हो भन्ने भावना जागृत गराउने, खेल विज्ञानमार्फत देशको छवि उकास्ने जस्ता खेलकुदको फराकिलो परिचय स्थापित गर्ने अभियानमा ‘हैंसे’ दिने काममा पनि ‘खेलाडी’ कर्मले निरन्तरता पाउने छ ।

खेलाडीको गौरवमय एकवर्षे यात्रामा सबैभन्दा बढी उर्जा र उत्साह भर्ने पाठकवर्गसँग हामी अझ बढी सहकार्यको अपेक्षा गर्छौं । एक वर्षमा यहाँहरूसँगको निरन्तर अन्तरक्रियाबाट हामीले आफूलाई थप निखार्दै अगाडि बढ्ने मौका पाएको छौं ।

हो, खेलाडी डटकम भनेको कम्प्युटरको किबोर्ड र क्यामेरा चलाउने सीमित पत्रकारको एकांकी समाचार माध्यममात्र पक्कै होइन । आम पाठकवर्ग र खेलकुदका सबै सरोकारवाला यसको बराबर हिस्सेदार हुन् भन्ने हाम्रो बुझाइ हो ।

यसबीचमा हामीलाई माया गर्ने पाठकवर्ग, विज्ञापनदाता तथा नेपाली खेलकुदका सबै सरोकारवालाहरूप्रति कृतज्ञता प्रकट गर्दै खेलाडी डटकम परिवार आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दछ ।  

सम्पादक