आहा रारा गोल्डकप

चर्च ब्वाइज क्वार्टरफाइनलमा

पोखरा । पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड एफसी आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाईजले पोखरा रंगशालमा शुक्रबार सम्पन्न खेललमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि अतिरिक्त समयमा २–१ को रोमाञ्चक जित निकालेको हो ।  

निर्धारित ९० मिनेट १–१ को बराबारीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको  थियो । खेलको २५ औं मिनेटमा रवी शंकर पास्वानको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । निरकुमार राईले मिलाएको बललाई रविले सहजै जाली चुमाएका थिए ।

७६ औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई १–१ को बराबरीमा ल्याएका थिए । अन्जनले बक्सभित्रबाट हानेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भयो । एक सयौं मिनेटमा अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को रोमाञ्चक जित दिलाए । अनन्तले सेट पिसमा हेड गोल गरेका थिए ।

चर्च ब्वाइजले पुस १७ गते हुने क्वार्टरफाइनलमा मछिन्द्र क्लबको सामना गर्नेछ । बिहिबार सम्पन्न उद्घाटन खेलमा आयोजक साहारा क्लबलाई १–० ले पराजित गर्दै घरान फुटबल क्लबले पनि क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।