फुटबलका राजा पेले

‘फुटबलका राजा’को आदर्श खेल जीवन

काठमाडौं । विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी र एउटा आदर्श खेलकुद व्यक्तित्वको छविसँगै ब्राजिली फुटबलका महान हस्ती पेलेले बिहीबार राति भौतिक रुपमा शंसार छोडेका छन् ।

पेलेको महानता मापन गर्न धेरै घोत्लिइरहनु पर्दैन । खेलाडीका रुपमा उनका सामान्य तथ्यांकले नै उनी कति महान फुटबलर हुन भन्ने प्रमाण दिइरहेका छन् ।

खेलकुद इतिहासले पाएको पहिलो विश्वव्यापी व्यक्तित्व पेलेले करियरका एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गोल गरेका छन् । किशोरावस्थामा सान्तोषबाट सुरु भएको यात्रालाई न्युयोर्क कसमससँग महंगो अनुबन्नसम्मको यात्रा दौरान पेलेले विश्व फुटबललाई आफ्नो अदभुत क्षमतामार्फत चकित पारिसकेका थिए । यही कारण हो, शंसारका फुटबल खेलिने हरेक कुनाकाप्चामा उनको नाम यो खेलको पर्याय जस्तै बनेको ।

पेले- असाधारण किशोर

पेलेले साओ पाउलोको बाउरो एफसीमा ब्राजिलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी वाल्डेमार डी ब्रिटोको चेलाका रुपमा सानै उमेरमा फुटबल सुरु गरेका थिए । ब्राजिली फुटबलका शीर्ष व्यक्तित्वहरुको आँखामा परेपछि उनको यात्रा आफ्ना गुरु डी ब्रिटोको पूर्व क्लब सान्तोषतिर मोडियो ।

ब्राजिली फुटबलको महारथी सान्तोषबाट १९५६ सेप्टेम्बर सातमा उनले १५ वर्षको कलिलो उमेरमै सिनियर स्तरमा ‘डेब्यु’ गरे । सान्टो आन्द्रेमा सान्तोषले कोरिन्थियन्समाथि ७-१ को जित हासिल गरेको त्यही खेलबाट पेलेको गोल स्कोरिङको असाधारण यात्राको पनि सुरुआत भएको थियो । करियरमा हजारभन्दा बढि गोल गरेका उनले पहिलो प्रतिस्पर्धात्मक गोल त्यही खेलमा गरेका थिए ।

पेलेको उपस्थितीले सान्तोषलाई पनि एउटा क्लबको रुपमा झन ठूलो उचाई दियो । पेलेको साथ पाएपछि सान्तोषको प्रभाव ब्राजिलमात्र सीमित रहेन । टोलीले १९६२ र १९६३ मा लगातार दुई पटक दक्षिण अमेरिकी क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता कोपा लिबरटेडोर्सको उपाधि जित्यो । पहिलो पटक उरुग्वेको पेनारोललाई प्लेअफमा निराश पारेको सान्तोषले दोस्रो पटक उपाधि जित्दा अर्जेन्टिनाको बोका जुनियर्सलाई ५-३ को समग्र अन्तरमा पराजित गरेको थियो ।

क्लब स्तरमा सनसनी मच्चाउँदै गर्दा अन्तर्राष्ट्रिय फुटबलमा पनि पेलेको उपस्थिती सर्वस्वीकार्य हुन थालिसकेको थियो । उनले १९५७ जुलाई ९ मा अर्जेन्टिनाविरुद्ध खेल्दै १६ वर्षको उमेरमै अन्तर्राष्ट्रिय ‘डेब्यु’ जनाएका थिए । माराकाना रंगशालामा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलमा उनको टोली ब्राजिल पराजित भयो । तर राष्ट्रिय टोलीका लागि ९२ खेलमा ७७ गोल गरेका पेलेको पहिलो अन्तर्राष्ट्रिय गोल त्यही खेलमा भएको थियो ।

विश्वभर पेलेलाई ब्राजिलका पूर्व खेलाडीका रुपमा सम्मान गरिन्छ । आधुनिक फुटबलकै भगवानका रुपमा पुजिन्छ । तर ब्राजिलमा चाँही उनी सान्तोषको हस्तीका रुपमा पनि स्मरणीय छन् । पूरा विश्वले ब्राजिलको पहेलो जर्सीमा सम्झँदा देशभित्र भने मानिसहरु उनलाई सान्तोषको सेतो जर्सीमा स्मरण गर्छन ।

एउटा उमेरसम्म अन्तर्राष्ट्रिय फुटबलमा पेलेलाई टक्कर दिने प्रतिद्धन्द्धी थिए, पोर्चुगलका हस्ती इयुसेबियो । तर १९६२ को अन्तरमहादेशीय कपमा यी दुई तत्कालिन सुपरस्टार आमनेसामने भए । कोपा लिबरटेडर्स विजेताका रुपमा पेले तथा युरोपियन कपको विजेताका रुपमा इयुसेबियो प्रतिस्पर्धीका रुपमा उपस्थित भएपछि एकजना प्रष्ट विजेताको हैसियतसाथ मैदानबाट निस्किए ।

सान्तोष र बेन्फिकाबीचको खेलको पहिलो लेग माराकानामा भएको थियो । दोस्रो लेग चाँही बेन्फिकाको मैदानमा भएको थियो । पहिलो लेगमा ३-२ को जित हासिल गर्दा पेलेले दुई गोल गरे । दोस्रो लेगमा ५-२ ले नतिजा हात पार्दा पेलेको नाममा ह्याट्रिक थियो ।

विश्वभर पेलेलाई ब्राजिलका पूर्व खेलाडीका रुपमा सम्मान गरिन्छ । आधुनिक फुटबलकै भगवानका रुपमा पुजिन्छ । तर ब्राजिलमा चाँही उनी सान्तोषको हस्तीका रुपमा पनि स्मरणीय छन् । पूरा विश्वले ब्राजिलको पहेलो जर्सीमा सम्झँदा देशभित्र भने मानिसहरु उनलाई सान्तोषको सेतो जर्सीमा स्मरण गर्छन । सुन्दर खेलले जन्माएका सर्वकालिन महान खेलाडीको उपमा पाउनका लागि पेलेले राष्ट्रिय टोलीसँगै सान्तोषका लागि गरेको प्रदर्शन पनि कम महत्वपूर्ण छैनन् । सान्तोषका लागि उनले ६ सय ३८ खेलमा ६ सय १९ गोल गरेका थिए ।

ब्राजिलका विश्वकप नायक

१९५८ को विश्वकप फाइनलमा ब्राजिलले स्विडेनमाथि ५-२ को जित हासिल गर्दा दुई गोल गरेका १७ वर्षे फुच्चे पेले विश्व फुटबलले अझैसम्म पनि निक्कै चर्चा गर्ने नायक पात्र हुन् । विश्वकपमा सुपरस्टारका रुपमा भने १९७० को विश्वकपमा उनले ब्राजिललाई उपाधिको बाटोमा डोर्याएका थिए । मेक्सिकोको एज्टेक रंगशालामा भएको फाइनलमा इटालीमाथि ४-१ को जित हासिल गर्दा पहिलो गोल २९ वर्षका परिपक्व पेलेले गरेका थिए ।

पेलेको कथाले ब्राजिलका लागि तीन पटक विश्वकप जित्ने ती दुई फरक पुश्ताका टिमका सफलतामात्र समेटेका छैनन् । वास्तवमा ति महान फुटबलर इड्सन अरान्टेस डो नास्चिमेन्टो नै हुन्, जसलाई फुटबल विश्वले पेलेको नामले आदरसाथ पुकार्छ । आधुनिक फुटबलमा निक्कै प्रभावशाली भूमिका रहने ‘नम्बर १०’को पहिलो र अहिलेसम्मकै महानतम खेलाडीको हैसियत प्राप्त गर्नेसम्मका यात्रा पनि उनको कथामा समावेश छन् ।

विश्व फुटबल सधै इतिहासकै सबभन्दा महान खेलाडी को ? भन्ने प्रश्नमा सधै विभाजित हुने गरेको छ । खासगरि विश्वकप फुटबलको वरिपरी यो बहस झनै गहन बन्ने गरेको छ । ब्राजिलको चिर प्रतिद्धन्द्धी अर्जेन्टिना र उसका समर्थकहरु १९८६ मा एकल नायकत्वमा विश्वकप जिताएका डिएगो म्याराडोनालाई यो बहसमा ल्याउँछन् । इङ्ल्यान्डको दाबी मान्ने हो भने क्वार्टरफाइनलमा म्याराडोनाले गरेको विवादास्पद ‘ह्यान्ड अफ गड’ गोलकै कारण अर्जेन्टिना विश्वकप उपाधिको लायक बनेको हो ।

खेलाडीका रुपमा महान भए पनि म्याराडोनाको व्यक्तिगत जीवनमा निक्कै अँध्यारा पाटा थिए । तर पेलेमा त्यस्ता कुनै खराव पक्ष थिएनन् । १९९४ मा अमेरिकामा सम्पन्न विश्वकपबाट लागु औषध प्रयोगका कारण म्याराडोनालाई निकालिएको थियो । जवकि मेसीले विश्वकपको एउटा उपाधिका लागि कतार विश्वकपसम्म कुर्नुपर्यो ।

अर्जेन्टिनीहरु दिभंगत म्याराडोनासँगै हालैमात्र कतारमा पहिलो पटक विश्वकपको उपाधि जितेका लियोनेल मेसीलाई पनि पेलेको महान दर्जाका प्रतिद्धन्द्धीका रुपमा बयान गर्छन । दक्षिण अमेरिकाका दुई ठूला फुटबल देश, तिनको प्रतिद्धन्द्धीता, ति देशले जन्माएका असाधारण खेलाडीहरु अनि सबभन्दा महत्वपूर्ण एकअर्काप्रति अत्यन्तै अनुदार समर्थका कारण यो बहस पूर्ण रुपमा कहिल्यै साम्य हुने छैन ।

खेलाडीका रुपमा महान भए पनि म्याराडोनाको व्यक्तिगत जीवनमा निक्कै अँध्यारा पाटा थिए । तर पेलेमा त्यस्ता कुनै खराव पक्ष थिएनन् । १९९४ मा अमेरिकामा सम्पन्न विश्वकपबाट लागु औषध प्रयोगका कारण म्याराडोनालाई निकालिएको थियो । जवकि मेसीले विश्वकपको एउटा उपाधिका लागि कतार विश्वकपसम्म कुर्नुपर्यो ।

पेलेले पनि विश्वकपमा निराशा भोग्नुपर्यो । १९६६ मा साविक विजेताका रुपमा इङ्ल्यान्ड पुगेको पेलेको ब्राजिल दई खेलमा पराजित भएपछि समूह चरणबाटै घर फर्कियो । पेले र ब्राजिलका लागि विर्सन लायक रहेको उक्त प्रतियोगितामा टोलीले पहिलो खेलमा बुल्गेरियामाथि २–० को जित हासिल गरेको थियो, जहाँ पहिलो गोल पेलेले नै गरेका थिए । तर त्यसपछि हंगेरी र पोर्चुगलसँग ३–१ को समान अन्तरमा पराजित हुँदै टोली घर फर्किएको थियो ।  

नतिजाका हिसावमा पेलेले विश्वकपमा निराशा भोगेको त्यो एकमात्र क्षण थियो । तर व्यक्तिगत करियरमा भने त्यो उनका लागि थप पीडादायी रहयो । असाधारण प्रतिभाका धनी पेले ब्राजिलले पछिल्ला दुई विश्वकपमा उपाधि जित्दाका मुख्य नायक थिए । यही कारण इङ्ल्यान्डमा पनि उनी प्रत्येक खेलमा विपक्षी खेलाडीहरुको मुख्य निसाना बन्ने गरेका थिए ।

बुल्गेरियामाथि जित हासिल गर्दा थुप्रै पटक विपक्षी खेलाडीको शारिरीक चुनौती भोगेका उनको दायाँ घुँडामा सामान्य समस्या आइसकेको थियो । गुडिसन पार्कमा पोर्चुगलसँग पराजय भोगेको खेलमा उनले अझ धेरै विपक्षी फाउलहरुको सामना गर्नुपर्यो । जसले गर्दा उनको घुँडाको समस्या नराम्ररी बल्झियो । जसका कारण उनले सधैका लागि विश्वकप गुमाउनुपर्ने सम्मको अवस्था सिर्जना भयो ।

तर, विश्व फुटबलमा राज गर्न जन्मिएका पेलेको हकमा नियतिले पनि त्यो परिस्थिती स्वीकार गरेन । १९७० को विश्वकपमा उनको झन सनसनीपूर्ण पुनरागमन भयो । मेक्सिको सिटीमा उपाधि उचाल्दाको क्षण पेलेको करियरको उत्कर्ष थियो । वास्तवमा ब्राजिलको तत्कालिन स्वर्णिम टोलीमा पनि आफू केन्द्रमा रहन पाउनु पेलेको लागि भाग्यले दिएको ठूलो उपहार थियो । पेलेको वरिपरी रिभेलिनो, जाइरिन्हो, टोस्टाओ र जेर्सनजस्ता खेलाडीको साथ रहँदा कार्लोस अल्बर्टोजस्ता प्रेरणादायी कप्तानको नेतृत्व पनि त्यतिबेलाको ब्राजिली टिमसँग थियो ।

तेस्रो पटक विश्वकप उपाधि जितेपछि खुसीले पुलकित भएका पेलेलाई जर्सी फुकालेको अवस्थामा टिम सहयात्री र समर्थकहरुले मेक्सिको सिटीमा बोकेको दृष्य विश्व फुटबलका समर्थकको स्मृतिमा अझ ताजै छ ।  

गुमेको जादु

मेक्सिको विश्वकप १९७० मा पेलेको गोल स्कोरिङ फर्म समर्थकले देख्न पाएनन् । तर ब्राजिललाई तेस्रो पटक विश्वकप जिताउने जस भने उनकै भागमा सबभन्दा धेरै पर्यो । गोल गर्न नसके पनि उनले मैदानमा देखाएको खेल कौशल, असाधारण प्रतिभा, शारिरीक रुपमा पनि शक्तिशाली प्रदर्शन, मानसिक परिपक्वतालगायतले पेलेलाई विश्व फुटबलले पाएको इतिहासकै सबभन्दा महान प्रतिभाका रुपमा स्थापित गर्यो ।

समूह ‘सी’अन्तर्गत पहिलो खेलमा चेकोस्लोभाकियाविरुद्ध ग्वाडालाजारामा पेलेले ६ यार्ड बक्सभित्रबाट पनि थुप्रै पटक मौका पाएका थिए । तर उनका कुनै पनि प्रयास गोलमा परिणत भएनन् । त्यति नजिकको दुरीबाट पेलेले गरेका प्रहार पनि कहिले पोस्टभन्दा निक्कै माथिबाट बाहिरियो भने कहिले पोलमा लागेर फर्किए । उनका कुनै प्रहार पोस्टभन्दा निक्कै नजिकबाट बाहिरिए । कतिपय प्रहार विपक्षी गोलपिकर इभो भिक्टरलाई पास दिएजस्तै थिए ।

ग्वाडालाजारामै भएको सेमिफाइनल उनका लागि विर्सनलायक अर्को खेल थियो । जहाँ टोस्टाओको पासमा पेलेले एउटा अत्यन्तै सहज अवसर पाएका थिए । तर पेलेले दौडँदै अगाडि बढेर गरेको प्रहार विपक्षी गोलकिपर लाडिस्लाओ माजुर्केइजले बचाए । सम्भवत माजुर्केइजले विश्वकप इतिहासमा सबभन्दा बढि गर्व गर्ने क्षण त्यही थियो ।

विश्व फुटबलकै आदर्श

पेले त्यतिबेला शिखरमा थिए जब विश्व फुटबलमा खेलाडी अनुबन्धन र पैसा खर्च गर्ने होड अहिलेजस्तो थिएन । त्यसैले पनि उनको करियर सान्तोषमै बित्यो । अहिले पेले व्यावसायिक भएको भए उनको मूल्य कति हुन्थ्यो होला ? सोच्न पनि सकिन्न । पेलेलाई भित्र्याउन युरोपका प्रतिष्ठित क्लबहरुबीच चर्कै प्रतिस्पर्धा हुन्थ्यो होला ।

जब उत्तर अमेरिकाले फुटबल विकासमा निम्ति सकर लिगको सुरुआत गर्यो, क्लबहरुको पहिलो प्राथमिकतामा पेले थिए । जर्मनीका महान खेलाडी फ्रान्ज बेकनबाउर पनि सबैको नजरमा थिए । तर जे पेलेमा थियो, त्यो अरुमा थिएन । पेलेमा त्यो चमक थियो । विश्व फुटबलको पहिचान बनिसकेका थिए, पेले । पेले १९७५ मा न्युयोर्क कसमसमा अनुबन्धित भए । उनले त्यहाँ दुई वर्ष बिताए । उनले त्यहाँ ६४ खेलमा ३७ गोल गरे ।

कसमसले १९७७ मा घरेलु लिगको उपाधि जित्यो । जुन पेलेले अमेरिकामा जितेको एकमात्र ठूलो प्रतियोगिता हो ।

पेले विश्व फुटबलकै एक आदर्श बनिसकेका थिए । उनी जहाँ जान्थे, त्यहाँ फुटबलको उचाई पनि थप्थे । पेलेको अन्तिम वर्षमा घरेलु लिग जितेपछि १९७७ अक्टोबरमा न्युयोर्क कसमसले उनको सम्मानमा सान्तोषसँग मैत्रीपूर्ण खेल आयोजना गरेको थियो  ।

फुटबल पछिको जीवन

खेल जीवन टुंग्याएपछि पेलेले फुटबलको सदभावना दुत बनेर विश्वका विभिन्न देशहरुको यात्रा गरे । विश्वभरिका मानिसहरुको इच्छालाई सम्मान गर्दै विभिन्न ठाउँहरु पुगे ।

२००५ मा पेले बिबिसी वर्ष खेलकुद व्यक्तित्व अवार्ड कार्यक्रममा आजीवन पुरस्कारबाट सम्मानित भए । उनले यो पुरस्कार ग्रहण गर्नु अगाडि बेकेनबाउर, योहान क्रायफ र सर बबी चाल्र्टनबाट मौखिक बधाई पाएका थिए । बेकेनबाउरले त्यतीबेला भनेका थिए, ‘पेले विश्व फुटबल इतिहासकै महान हुन् ।’

२०१५ इङ्ल्यान्ड भ्रमणका क्रममा उनी एन्फिल्ड पुगेका थिए । लिभरपुल र म्यान्चेस्टर युनाइटेडबीचको खेलमा पेले पहिलो हाफ सकिएपछि मैदान प्रवेश गरेका थिए । त्यतीबेला सबैले उभिएर ताली बजाएका थिए ।

२०१६ रियो ओलम्पिक्सको आयोजना ग्रहण गर्न पेले ब्राजिलको सदभावना दुतको भूमिकामा २०१२ मा लण्डन ओलम्पिक्सको समापन समारोहमा पुगेका थिए ।

त्यसपछि पनि विश्वभरका नयाँ पुश्तालाई निरन्तर एउटा आदर्श खेल व्यक्तित्व बनेर प्रेरित गरिरहेका पेलेले बिहीबार साओ पाउलोको एउटा अस्पतालमा देहत्याग गरे ।

भौतिक रुपमा विदा भइसकेका उनलाई सम्झँदा फुटबलप्रेमीहरुले सम्झने र सम्मान गर्ने तरिका साझा छ । किनकी संसारकै सबैभन्दा सुन्दर खेल फुटबल पेले जत्तिको राम्रो अरु कसैले खेलेन ।