काठमाडौं । लगातार दोस्रो संस्करण ट्वान्टी-२० विश्वकपमा स्थान बनाएको दिन नेपालले एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले ओमानमाथि ३८ रनको जित हासिल गरेको छ ।
बुधबार अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य ओमानले भेट्टाउन सकेन । नेपालको कसिलो बलिङसामू ओमानका शीर्ष क्रमका ब्याटर निरीह रह्यो । ओमानले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै मात्र ११३ रन बनाउन सक्यो ।
ओमानका लागि सातौं नम्बरमा ब्याटिङका लागि आएका विकेटकिपर विनायक शुक्लले १९ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ३२ रनको योगदान गरे । त्यस्तै पाँचौं नम्बरमा आएका मोहम्मद नदीमले २५ रन बनाए । ओपनर तथा कप्तान जतिन्दर सिंहले १४ रन जोड्दा तेस्रो नम्बरका आर्यन विश्ट ११ रनमा आउट भए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि गुल्सन झाले चार ओभरमा ३१ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट लिँदा एक विकेट सन्दीप लामिछानेको नाममा रह्यो ।
जितसँगै नेपाल चार खेलमा स्पष्ट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट ६ अंक जोडेको ओमान दोस्रो स्थानमा झरेको छ । शुक्रबार नेपालले अन्तिम खेलमा समाओलाई हराए छनोट प्रतियोगिताको ट्रफी उचाल्नेछ । बुधबार नेपाल र ओमान दुबैले दुई खेलअगावै विश्वकपमा स्थान बनाएका थिए ।
तेस्रो ओभरमा नेपालले पहिलो विकेटको रुपमा कप्तान जतिन्दरको विकेट लिएको हो । सोमपालको बलमा जतिन्दर दीपेन्द्रसिंह ऐरिबाट क्याच भए । चौथो ओभरको चौथो बलमा अर्का ओपनर हम्माद मिर्जा नन्दनको शिकार बने । चार रनमा रहेका हम्माद भुर्तेलबाट क्याच भए । पावरप्लेको अन्तिम ओभरमा आमीर कलिम दीपेन्द्रबाट रनआउट भए । नवौं ओभरको दोस्रो बलमा आर्यनलाई सन्दीपले पेभिलियनको बाटो देखाए । जतिबेला टोलीले ३८ रन बनाएको थियो ।
स्कोरबोर्डमा तीन रन जोडिन नपाउँदै नेपालले पाँचौं सफलता हासिल गर्यो । नदीम खानलाई गुल्सनले बोल्ड गरिदिए । त्यसपछि क्रिजमा आएका विनायकले मोहम्मद नदीमसँग मिलेर ३१ रनको साझेदारी गरे ।
१४औं ओभरमा गुल्सनले लगातार दुई विकेट लिँदै नेपाललाई सहज जितको बाटोमा दोहोर्याए । मोहम्मद नदीमलाई रोहितबाट क्याच गराएका गुल्सनले जितेनकुमार रमानन्दीलाई बोल्ड गरे । ओमानले १८औं ओभरको चौथो बलमा विनायकलाई गुमायो । सोमपालको बलमा उनी गुल्सनबाट क्याच भए । १९औं ओभरको पहिलो बलमा सुफ्यान मेहमूदलाई नन्दनले कुशल भुर्तेलबाट क्याच गराए ।
त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर ब्याटिङको निर्णय गरेको नेपालले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १५१ रनको योगफल खडा गरेको थियो । मध्यक्रमका ब्याटर नचलेपनि भुर्तेल र उनका ओपनिङ जोडी आसिफ शेखको ब्याटबाट रन निस्किँदा नेपाल प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।
भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित ६९ रनको पारी खेले । भुर्तेलसँग पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका आसिफले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । यसबाहेक गुल्सन झाले १८ र मोहम्मद आदिल आलमले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानका लागि नदीम खानले चार ओभरमा २० रन खर्चिँदै सर्वाधिक चार विकेट लिए । त्यस्तै सुफ्यान मेहमूद र जितेन रमानन्दीले दुई खेलाडीलाई पेभिलियनको बाटो देखाए ।
नदीमले आठौं विकेटमा ओमानलाई पहिलो र दोस्रो सफलता दिलाए । तेस्रो बलमा आसिफको विकेट लिँदै टोलीलाई ‘ब्रेक थ्रु’ दिलाएका नदीमले अन्तिम बलमा कप्तान रोहित पौडेलको विकेट हासिल गरे । रोहितले एक रनमा समेटिए ।
ओमानलाई तेस्रो र चौथो सफलता नदीमले नै दिलाए । १०औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरि एलबिडब्ल्युको शिकार बने । १२औं ओभरको चौथो बलमा कुशल मल्ल हमाद मिर्जाबाट क्याच भए । कुशलले ९ बलमा मात्र सात रन बनाउन सके । कुशल पेभिलियन फर्किएसँगै क्रिजमा आएका मोहम्मद आदिल आलमले जीवनदानको सदुपयोग गर्न सकेनन् । १५औं ओभरको अन्तिम बलमा आमीर कलिमले आलमको क्याच ‘ड्रप’ गरेका थिए । १७औं ओभरमा आलम सुफ्यान मेहमूदको बलमा जतिन्दर सिंहबाट क्याच भए । त्यही ओभरको अन्तिम बलमा भुर्तेल एलबिडब्लुको शिकार बने ।
प्रतियोगितामा भुर्तेलको यो दोस्रो अर्धशतक हो । यसअघि समूह चरणको खेलमा भुर्तेलले कुवेतविरुद्ध ६६ रनको पारी खेलेका थिए । उनको यो १३औै ट्वान्टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो ।
ओमानले १९औं ओभरको अन्तिम बलमा गुल्सन झाको विकेट हासिल गर्यो । यसपाली पनि बलर मेहमूद नै थिए । अन्तिम ओभरको पहिलो बलमा लोकेश बम जितेन रमानन्दीबाट बोल्ड हुन पुगे । अन्तिम बलमा नन्दन यादव रनआउट भए ।