काठमाडौं । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा बाजी मारेको छ ।
लाहोरस्थित गद्दाफी रंगशालमा सम्पन्न प्रतिस्पर्धामा पाकिस्तानले चौथो दिनमा ९३ रनको जित हासिल गरेको हो । जितसँगै दुई खेलको टेस्ट श्रृंखलामा पाकिस्तानले १-० को अग्रता लिएको छ ।
पाकिस्तानले इनिङ्समा सबै विकेट गुमाउँदै ३७८ रन बनाएको थियो । । पाकिस्तानका लागि ओपनर इमाम उल हक र मध्यक्रमका ब्याटर सलमाले समान ९३ रनको योगदान गरेका थिए । दक्षिण अफ्रिकाका लागि सेनुरन मुथुस्वामीले ६ विकेट आफ्नो नाममा लेखाएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले सबै विकेट गुमाएर मात्र २६९ रन बनाउन सक्यो । चौथो नम्बरका ब्याटर टोनी डी जोर्जीले शतकीय पारी खेलेपछि दक्षिण अफ्रिकाले दुई सय रनको आँकडा पूरा गरेको हो । यसबाहेक ओपनर रायन रिकेल्टनले ७१ रन जोड्दा अन्य खेलाडी चलेनन् । दक्षिण अफ्रिकालाई कम रनमा रोक्न नोमान अलीले सर्वाधिक ६ विकेट लिए ।
१०९ रनको अग्रता बनाएको पाकिस्तानले दोस्रो इनिङ्समा राम्रो ब्याटिङ गर्न सकेन । टोली १६७ रनमै ‘अल आउट’ भयो । पाकिस्तानलाई सस्तैमा अल आउट गर्न दक्षिण अफ्रिकालाई फेरि पनि सेनुरन मुथुस्वामीकै रवाफ आवश्यक रह्यो । मुथुस्वामीले पाँच विकेट लिए ।
अब दक्षिण अफ्रिकालाई जितका लागि २७६ रनको आवश्यक थियो । तर, नोमान अलीको लयले निरन्तरता पाउँदा दक्षिण अफ्रिकाले लक्ष्य भेट्टाउन सकेन । टोली १८३ रनमा ‘अल आउट’ भयो । नोमान र शाहीन शाह अफ्रिदी दुबैले समान चार विकेट लिए ।
दोस्रो टेस्ट अक्टोबर २० बाट सुरु हुनेछ ।