काठमाडौं । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डाको गोलबाट फेरि अर्को कीर्तिमान भंग भएको छ ।
अन्तर्राष्ट्रिय फुटबलमा दुई दशकभन्दा लामो समय बिताइसकेका पोर्चुगिज फरवार्ड रोनाल्डोले मंगलबार मध्यराति हंगेरीविरुद्धको खेलमा अर्को कीर्तिमान रचेका हुन् ।
फिफा विश्वकप छनोटको समूह ‘एफ’मा रहेको पोर्चुगलले मंगलबार हंगेरीसँग २-२ को बराबरी खेल्यो । जुन खेलमा पोर्चुगलका लागि दुबै गोल रोनाल्डोले गरेका थिए ।
खेलको आठौं मिनेटमा सेन्टरब्याक एटिला सजलाईको गोलमार्फत हंगेरीले अग्रता लिएको थियो । तर, हंगेरीको यो अग्रता धैरे बेर टिकेन । २२औं मिनेटमा रोनाल्डोले पोर्चुगललाई बराबरीमा ल्याए । यो गोलले रोनाल्डोलाई विश्वकप छनोट इतिहासकै उच्च गोलकर्ताको सुचीमा पहिलो स्थानमा ल्यायो । उनले ३९ गोलका साथ शीर्ष स्थानमा रहेका ग्वाटेमालाका स्ट्राइकर कार्लोस रुइजलाई पछाडि पारे । रुइजले यो उपलब्धि अन्तर्राष्ट्रिय फुटबलमा १८ वर्ष बिताएपछि हासिल गरेका थिए । उनले २०१६ मा आफ्नो बुट थन्क्याएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले फेरि गोल गरे । यससँगै रोनाल्डोको गोलसंख्या ४१ पुग्यो । रुइजभन्दा दुई बढी । अनि अर्जेन्टाइन राइभल लियोनल मेसीभन्दा पाँच बढी ।
लिस्बनको इस्टाडियो होसे अल्भलाडे रंगशालामा सम्पन्न खेलमा लिभरपुलका मिडफिल्डर डोमिनिक सोबोस्लाईले इन्जुरी समयमा बराबरी गोल गरेपछि हंगेरीले पोर्चुगलसँग अंक खोसेको हो ।
यो नतिजापछि चार खेलमा १० अंकसहित पोर्चुगल अंकतालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट पाँच अंक जोडेको हंगेरी दोस्रो स्थानमा छ । पोर्चुगलले आफ्नो पाँचौं खेलमा रिपब्लिक अफ आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नोभेम्बर १३ मा हुने यो खेलमा जित हासिल गरे पोर्चुगलले अर्को वर्ष संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा स्थान पक्का गर्नेछ ।