स्पेन

डे ला फोयन्टे स्पेनको नयाँ प्रशिक्षकमा नियुक्त

मड्रिड । लुईस डे ला फोयन्टे स्पेनको नयाँ प्रशिक्षक नियुक्त भएका छन । 

रोयल फुटबल फेडेरेसन (आरएफइएफ)ले शुक्रबार लुईस इनरिकेको स्थानमा डे ला फोयन्टेलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

डे ला फोयन्टेले आगमी मार्च देखि स्पेनको प्रशिक्षण सम्हाल्नेछन । ६१ वर्षीय डे ला फोयन्टेले सन् २०१९ मा स्पेनको युवा टोलीको प्रशिक्षण सम्हालेका थिए ।

कतार विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३–० ले पराजित हँुदै बाहिरिएपछि इनरिकेले राजिनामा दिएका थिए । 

पहिलोपटक सन् २०१८ मन स्पेनको राष्ट्रिय टोली सम्हालेको इनरिकेले सन् २०१९ मा व्यक्तिगत कारण देखाउँदै टोली छाडेका थिए । 

चार महिनाको विश्रामपछि इनरिके सन् २०१९ पुनः स्पेनिस टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए ।

‘पछिल्ला केही वर्षमा स्पेनको राष्ट्रिय टोलीमा गरेको योगदानका लागि लुईस इनरिके र उनको प्रशिक्षण टोलीलाई धेरै धेरै धन्यवाद’आरएफइएफले विज्ञप्तिमार्फत भनेको छ ।