क्यान

नेपाल टी–२०ः काठमाडौं नाइट्स नयाँ फ्रेन्चाइज टोली

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक आयोजना गर्न लागेको फ्रेन्चाइज लिग नेपाल टी–२० लिगमा काठमाडौं नाइट्स नयाँ फ्रेन्चाइज टोलीको रुपमा भित्रिएको छ ।

क्यानले काठमाडौंको नयाँ फ्रेन्चाइज टोलीका रुपमा नेपाल स्पोर्टस भेन्चरकोे स्वामित्वमा रहेको काठमाडौं नाइट्स भित्रिएको जनाएकाे छ ।

पुस आठ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने भनिएको प्रतियोगितामा यसअघि काठमाडौं गोर्खाजसहित जनकपुर रोयल्स,लुम्बिनी अल स्टार्स,फार वेस्टर्न युनाइटेड,विराटनगर सपर किंग्स र पोखरा एभेन्जर्स गरि ६ टोली सहभागि हुने भनिएको थियो 

तर कान्तिपुर मिडिया ग्रुपको समेत स्वामित्व रहेको कान्तिपुर क्यापिटल्सको काठमाडौं गोर्खाजले विवादित लिग नखेल्ने भन्दै नाम फिर्ता लिएपछि पाँच टोली मात्र बाँकी रहेकाथिए । 

क्यानले गोप्य रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई सम्पूर्ण आयोजना अधिकार बेचेपछि विवादमा आएको नेपाल टी २० लिगको विषयमा सर्वोच्च अदालतमा मुद्धा परेको छ ।

अदालतमा मुद्धा परेको अवस्थामा आफ्नो लगानी सुरक्षित नहुने चासोका कारण काठमाडौं गोर्खाजले मंगलबार नेपाल टी २० लिग नखेल्ने निर्णय गरेको बताइएको थियो ।

देशभित्रै खुल्ला प्रतिस्पर्धामार्फत आयोजक छान्नुपर्ने सामान्य आर्थिक नियमसमेत मिचेर गोप्य रुपमा भारतीय कम्पनीलाई क्यानले आयोजना अधिकार बेचेको विरुद्ध लामो समयदेखि नियमित अर्को फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिग गर्दै आएका अमिर अख्तरले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ मा रहेको ‘कुनै पनि विदेशी कम्पनीलाई नेपाली प्रतियोगिताको अधिकार बेच्दा अनिवार्य रुपमा सरकारी पूर्व स्वीकृति लिनुपर्ने’ प्रावधान समेत सेभेन थ्रीलाई नेपाल टी २० को आयोजना अधिकार बेच्दा क्यानले पालना गरेको देखिएको छैन ।

क्यानले युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदबाट पूर्व स्वीकृति लिएको दाबी गर्दै आए पनि अदालतले माग गरेअनुसार परिषदले पठाएको पत्रमा आफूले कुनै स्वीकृति नदिएको उल्लेख छ ।