फ्रेन्च लिग वान

बार्सिलोनामा नेइमारसँग लामो समय सँगै खेल्ने इच्छा पूरा भएनः मेसी

पेरिस । लियोनल मेसीले स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा नेइमारसँग लामो समय  सँगै खेल्ने इच्छा भए पनि त्यो पूरा नभएको बताएका छन् ।

यद्धपी मेसीले अहिले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा नेइमारसँग पुनः सँगै खेल्न पाउँदा भने खुशी लागेको बताएका छन् ।

मेसी र नेइमारले बार्सिलोनाबाट चार सिजन सँगै खेलेका थिए । बार्सिलोनाले दुई पटक ला लिगा, तीन पटक कोपा डेल रे र एक पटक च्याम्पियन्स लिगको उपाधि जित्दा नेइमार र मेसी क्याम्प नोउमा प्रमुख खेलाडी थिए । 

नेइमार सन् २०१७ मा कीर्तिमानी दुई सय २२ मिलियन पाउन्डमा पिएसजीमा अनुबन्ध भएका थिए । बार्सिलोनाले आर्थिक संकट देखाउँदै सन् २०२१ मा मेसीको इच्छा विपरित सम्झौता अन्त्य गरेको थियो । मेसी बार्सिलोनाबाट पिएसजीमा गएका थिए ।

यद्धपी गत सिजन पिएसजीले लिग जिते पनि च्यापियन्स लिगको उपाधि सपना भने पूरा हुन सकेन । त्यसैले यी दुईका लागि समेत सो सिजन सोचे अनुरुपको रहेन । यस सिजन भने मेसी र नेइमारले पहिलो खेलबाटै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दुवै जना स्वभाविक लयमा देखिएका छन् । त्यसैले पिएसजी मेसी र नेइमारको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिगको उपाधि सपना साकार पार्नेमा आशाबादी देखिएको छ ।

‘नेइमारलाई म लामो समय देखी चिन्छु;, मेसीले भने, ’हामीलाई एक अर्काको क्षमता थाहा छ । म नेइमारसँग बार्सिलानामा लामो समय सँगै खेल्न चाहन्थे, त्यो इच्छा पूरा भएन । तर अहिले पुनः हामी पिएसजीमा सँगै छौ । त्यसैले म खुशी छु । आशा छ क्लबले हामीमाथि गरेको विश्वास अनुसारकै नतिजा दिनेछौ ।'