साफ महिला च्याम्पियनसिप

साफको तयारी पूरा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु मैदानमा हुने साफ महिला फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ ।

शुक्रबार एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्कासहितको मूल आयोजक समितिले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीबारे जानकारी दिएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ २१ देखि असोज तीन गतेसम्म आयोजना हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटान गरी सातै टिमको सहभागिता छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान तथा समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

कुल तीन करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ अनुमानित बजेट रहेको प्रतियोगितामा सहभागी टिम र अफिसियलको खाना र बसोबासको व्यवस्था साफले नै गर्नेछ । खेल मैदान तयारी र स्थानीय यातायात र अन्य स्थानीय खर्च भने एन्फाले व्यहोर्ने भएको छ ।

प्रतियोगिताको लागि भुटान र पाकिस्तान नेपाल आइसकेका छन् । र, बंगलादेशी टिम शनिबार नेपाल आइपुग्नेछ ।

प्रतियोगिताको टिकट, मार्केटिङ र बोर्डकास्टिङको अधिकार एन्फाले १०० स्पोर्टस् म्यानेजमेन्ट प्रालिलाई बिक्री गरिसकेको छ । प्रतियोगिताको साधारण प्याराफिटतर्फ तीन सय र भीआइपी प्याराफिटतर्फ पाँच सय टिकट मूल्य रहेको एन्फाले जानकारी दिएको छ ।