नेपाली फुटबल

‘अल्मुताइरीले बिनाकारण राष्ट्रिय टिमबाट निकाल्दा पनि मिडियाले प्रश्न गर्न सकेनन्’

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिनाकारण टिमबाट निकाल्दा पनि मिडियाबाट प्रश्न नआउँदा आफूलाई दुःख लागेको गुनासो पोखेका छन् ।

‘राष्ट्रिय टिमको प्रशिक्षणमा हिजोदेखि आएको हो तर, आधिकारिक रुपमा आजबाट आएको हो,’ किरणले भने, ‘निरन्तर १४ वर्षदेखि राष्ट्रिय टिममा खेलिरहेको थिए । त्यसैले टिमबाहिर रहँदाको समयमा केही समय आराम पाए । राष्ट्रिय टिममा आइसकेपछि व्यक्तिगत फाइदाको लागि खेल्ने होइन ।’

उनले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विनाकारण राष्ट्रिय टिमबाट निकाल्दा सञ्चारमाध्यमहरुबाट पर्याप्त सहयोग नपाएको गुनासो पोखे ।

‘हामीलाई प्रशिक्षणबाट निकाल्दा कुनै कारण थिएन । मलाई यसमा मिडियाले प्रशिक्षकलाई प्रश्न उठाउछन् जस्तो लागेको थियो । तर, कसैले केही गर्नुभएन,’ किरणले भने, ‘मिडियाबाट किन प्रश्न आएन भन्ने कुराले मलाई एकदमै नराम्रो लागेको थियो । प्रशिक्षक विदेशबाट आउनु भएको हो । उहाँ रहे पनि नरहे पनि खेल्ने हामीले नै हो । फुटबल विकासको लागि आउनु भएको भए पनि टिम नै विगार्दा दुःख लागेको थियो ।’