यु २० साफ च्याम्पियनसिप

इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश शीर्ष स्थानमा

भुवनेश्वर । मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश जारी यु २० साफ च्याम्पियनसिपको शीर्ष स्थान उक्लिएको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा बंगलादेशले शुक्रबारको दोस्रो खेलमा माल्दिभ्सलाई ४–१ ले पराजित गर्यो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा बंगलादेशलाई जित दिलाउन इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए ।

जितसँगै तीन खेलबाट ९ अंक जोडेको बंगालादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल खेल्दा पनि अंकविहिन रहेको माल्दिभ्स तालिकाको चौथो स्थानमा छ ।

शुक्रबारै भएको पहिलो खेलमा भारतले पहिलो जित निकाल्ने क्रममा श्रीलंकलाई ४–० ले पराजित गरेको थियो ।