ओसुमाने डेम्बेले

डेम्बेले बार्सिलोनामै बस्न तयार

मड्रिड । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड ओसुमाने डेम्बेले सम्झौता थप्न तयार भएका छन् । सन् २०१७ मा बोरुसिया डर्टमन्डबाट क्याटलान क्लब बार्सिलोना पुगेका २५ वर्षीय फ्रेन्च फरवार्ड डेम्बेलेको सम्झौता सकिइसकेको छ ।

स्पेनिस महारथीसँगको सम्झौता सकिएसँगै उनले बार्सिलोना छाड्ने चर्चा चलेको थियो । इङ्लिस क्लब चेल्सी र बायर्न म्युनिखको नाम डेम्बेलेसँग जोडिएको थियो । तर, बार्सिलोनासँग सम्झौता नवीकरण गर्नका लागि डेम्बेले तयार भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

पटक–पटक चोटको शिकार बनेका डेम्बेलेले बार्सिलोनाबाट १ सय ५१ खेलमा ३२ गोल गरिसकेका छन् । डर्टमन्डबाट पाँच वर्षअघि बार्सिलोना पुगेका डेम्बेलेले चोटकै कारण अपेक्षित प्रदर्शन गर्न सकेनन् । त्यसबेलाको महंगो मुल्य १ सय २० मिलियन पाउन्ड खर्चेर बार्सिलोनाले उनलाई भित्र्याएको थियो ।

नेइमारको बहिर्गमनसँगै क्याटलान क्लबमा पुगेका डेम्बेलेलाई ब्राजिलियन फरवार्डको विकल्पका रुपमा हेरिएको थियो । तर, चोटले ग्रस्त डेम्बेलेले त्यो अपेक्षा पूरा गर्न सकेनन् ।