एन्फा चुनाव

एन्फा चुनाव: सरस्वती, फ्रेन्ड्स र महिला संघले भोट हाल्न पाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनमा ९ भोटका लागि परेको अपीलमध्ये तीन मतदाताले मताधिकार फिर्ता पाएका छन् । निर्वाचन समितिले यसअघि मताधिकारबाट वञ्चित गरेका चार मतदातासहित थप पाँच मताधिकारमाथि अपील परेको थियो ।

तर, अपील कमिटीले सरस्वती क्लब, फ्रेन्ड्स क्लब र महिला फुटबल संघलाई मताधिकार दिने भएको छ । यसअघि निर्वाचन समितिले भने सिरहा जिल्लासहित कर्माछिरिङ शेर्पा प्यानलका चार मतदाताको मताधिकार खोसेको थियो । तर, अपील कमिटीले चारमध्ये तीन जिल्लाको मताधिकारको निर्णय उल्ट्याएको छ ।

सिरहा जिल्लाको भने निर्वाचन समितिले खोसेको मताधिकार फिर्ता भएको छैन । 

यसअघि निर्वाचन समितिमा दावी–विरोध परेर बदर भएका चार मतदाता– महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लबले मताधिकार पाउनु पर्ने भनेर अपील परेको थियो ।

यस्तै, सिन्धुली जिल्लाले पनि मताधिकार पाउनु पर्ने दाबी गर्दै अपील गरेको थियो । स्याङ्जालाई मताधिकारको सूचीबाट हटाउनु पर्ने भन्दै अपील परेको थियो ।

रौतहटका नेपाल कार्कीमाथि पनि अपील परेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताएका थिए । यस्तै, आरसी ३२ र कैलालीको स्टार सिटीमाथि पनि अपील परेको भए पनि निर्णय परिवर्तन नभएको अपील कमिटिका संयोजक विष्णु लुइटेलले जानकारी दिए ।