एन्फा निर्वाचन

एन्फा मुख्यालयमा पुलिस!

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनमा ९ भोटका लागि परेको अपीलको आज निर्णय आउने भएपछि एन्फा परिषरमा सुरक्षा शतर्कता बढाइएको छ  । निर्वाचन समितिले यसअघि मताधिकारबाट वञ्चित गरेका चार मतदातासहित थप पाँच मताधिकारमाथि अपील परेको थियो ।

अपील कमिटीले सोमबार दिउँसो ५ बजे त्यसमाथिको निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसकै लागि सुरक्षा शतर्कता बढाउन नेपाल प्रहरी त्यहाँ खटिएको एन्फाका एक पदाधिकारीले बताए ।

यसअघि निर्वाचन समितिमा दावी–विरोध परेर बदर भएका चार मतदाता– महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लबले मताधिकार पाउनु पर्ने भनेर अपील परेको छ ।

यस्तै, सिन्धुली जिल्लाले पनि मताधिकार पाउनु पर्ने दाबी गर्दै अपील गरेको छ । स्याङ्जालाई मताधिकारको सूचीबाट हटाउनु पर्ने भन्दै अपील परेको छ ।

रौतहटका नेपाल कार्कीमाथि पनि अपील परेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । यस्तै, आरसी ३२ र कैलालीको स्टार सिटीमाथि पनि अपील परेको महासचिव तुलाधरले बताए ।