एन्फा चुनाव

एन्फा चुनावः सदस्यमा दुई जनाको उम्मेदवारी खारेज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को महिना हुने केन्द्रिय कार्यसमिति चुनावका लागि निर्वाचन समितिले बिहीबार उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, खुल्ला सदस्य र महिला सदस्य गरि सबै पदमा कुल ५४ जना प्रतिस्पर्धी रहेकोमा दुई जनाको उम्मेदवारी खारेज भएको निर्वाचन समितिले जनाएको छ । समितिले बिहीबार सार्वजनिक गरेको नामावलीमा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका सप्तरी जिल्लाका रमेशकुमार श्रेष्ठ र बाराका सम्भुबहादुर सिंह ठकुरीको उम्मेदवारी खारेज भएको हो ।

दुवैले उम्मेदवारीवापत बुझाउनुपर्ने पाँच हजार रुपैयाँ शुल्क निर्धारित समयमा नबुझाएको कारण खारेज भएको निर्वाचन समिति स्रोतले खेलाडीलाई जानकारी गराएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँगै फ्रेन्ड्स क्लबका राजीव पौड्यालको उम्मेदवारी परेको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का र शिक्षित पराजुली छन् । पराजुली शेर्पा प्यानलबाट उठेका हुन् भने खड्का नेम्वाङ प्यानलका हुन् ।

यसैगरी उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ, विज्ञानराज शर्मा, विराटजंग शाही, दावा लामा, दीपक खतिवडा र सुन्दरनरसिंह जोशीको उम्मेदवारी परेको छ । सिंह, केसी, श्रेष्ठ र शर्माले शेर्पा प्यानलबाट तथा शाही, लामा, खतिवडा र जोशीले नेम्वाङ प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

त्यस्तै खुल्ला सदस्यमा कुल ३६ जनाको उम्मेदवारी परेकोमा समितिले ३४ जनाको उम्मेदवारीमात्र सदर गरेको छ । भरतबहादुर बुढ थापा, दीपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजारा, तपेश्वर राउत कुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बु, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराज गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा, कुमार कटुवाल, प्रविणकुमार यादव, कृष्णमुरारी गुरुङ, रमेश ब्यन्जनकार, मिलन गुरुङ, विजय घले, नेपाल कार्की, विकासनारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, प्रविणकुमार सुवाल, निरोज खड्गी, सुरेन्द्र सिख्राकार, मनिष जोशी, मुखिया लामा, सुन्दर थापा क्षेत्री र बालकुमार साँवाको उम्मेदवारी समितिबाट सदर भएको छ । खुल्ला सदस्यमा १३ जना निर्वाचित हुन्छन् ।

यसैगरी दुई महिला सदस्यका लागि परेका सबै पाँच उम्मेदवारीमाथि कुनै दावी विरोध परेको छैन । महिला सदस्य पदका लागि विन्द्रा देवान, सरिला श्रेष्ठ, विमला पौडेल, पेमा डोल्मा लामा र विना श्रेष्ठले दिएका उम्मेदवारी सदर भएका छन् ।