एन्फा निर्वाचन

उम्मेदवारीबाटै साँढे तीन लाख

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बिहीबार समयसिमा सकिँदा विभिन्न पदमा गरि ५४ जनाले उम्मेदवारी दर्ता गराउँदा निर्वाचन समितिले साढे तीन लाख रुपैयाँ शुल्क असुल गरेको छ ।

एन्फाले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिन चाहनेका लागि १५ हजार, वरिष्ठ उपाध्यक्षको उम्मेदवारका लागि १० हजार, उपाध्यक्षको उम्मेदवारका लागि १० हजार तथा सदस्य पदमा उम्मेदवारी दिन चाहनेका लागि पाँच हजार रुपैयाँ शुल्क तोकेको थियो ।

त्यसअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा फ्रेन्डस क्लबका राजीव पौडेलसहित गरि तीनजनाको उम्मेदवारी पर्दा ४५ हजार रुपैयाँ शुल्क उठेको थियो । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका दुई जनाले १० हजारका दरले २० हजार रुपैयाँ शुल्क बुझाउँदा चार उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका आठ जनाले १० हजारका दरले ८० हजार रुपैयाँ समितिमा बुझाए ।

यसैगरी १३ खुल्ला सदस्य पदका लागि ३६ जनाले उम्मेदवारी दर्ता गराउँदा पाँच हजार रुपैयाँका दरले एक लाख ८० हजार तथा दुई महिला सदस्य पदका लागि पाँच जनाले पाँच हजार रुपैयाँका दरले २५ हजार रुपैयाँ तिरेको निर्वाचन समितिले जानकारी गराएको छ ।