एन्फा चुनाव

एन्फा निर्वाचन: अध्यक्षमा दुईसहित २८ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने चुनावका लागि मंगलबार बिहानसम्म अध्यक्षमा दुई जनासहित २८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदका लागि कर्मा छिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन् । यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा शेर्पा प्यानलबाट शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराइसकेका छन् । नेम्वाङ प्यानलबाट उम्मेदवारी घोषणा गरेका वीरबहादुर खड्काले भने अहिलेसम्म उम्मेदवारी दर्ता गराएका छैनन् ।

यस्तै उपाध्यक्ष पदका लागि शेर्पा प्यानलका तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र दीर्घबहादुर केसीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एन्फाको २१ सदस्यीय कार्यसमितिमा चार जना उपाध्यक्ष रहन्छन् ।

यस्तै महिला सदस्यमा तीन जनाको उम्मेदवारी परेको छ । कार्यसमितिमा दुई महिला सदस्य रहन्छन् । महिला सदस्यका लागि विन्द्रा देवान, सरिला श्रेष्ठ मेलकु र विमला पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै १३ जना खुल्ला सदस्यका लागि १९ जनाको उम्मेदवारी परिसकेको छ । सदस्य पदमा उम्मेदवारी दिनेमा भरत बुड थापा, दिपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजारा, तपेश्वर कुमार राउत कुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बु, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ, रमेश कुमार श्रेष्ठ र शम्भु बहादुर सिंह ठकुरी छन् ।

आसन्न निर्वाचनका लागि जेठ १२ गतेसम्म उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले अझै थपिने निश्चित छ । यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका केही आकांक्षीले पनि उम्मेदवारी दर्ता गराएका छैनन् ।