एन्फा चुनाव

फुटबललाई घर चलाउने माध्यम बनाउँदिन: शेर्पा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले पछिल्लो चार वर्षे कार्यकालमा आफूलाई विकासको पक्षमा काम गर्न बाधा हाल्नेहरु अहिले चुनावमा पनि विरुद्धमा लागेको आरोप लगाएका छन् ।

आफूले अघिल्लो कार्यकालका लागि निर्वाचनमा उम्मेदवारी घोषणा गर्दा गरेका बाचाहरु चार वर्षमा पूरा गर्न कुनै कसर बाँकी नराखेको उनको दाबी थियो । पछिल्लो कार्यकालमा गरेका कामको नालिबेलीका साथै आगामी कार्यकालमा गर्ने कामको घोषणापत्र समेत सार्वजनिक गर्दै एन्फा अध्यक्ष शेर्पाले कोभिड महामारीका कारण सोचेअनुसार काम गर्न भने नपाएको स्वीकारे ।

‘चार वर्ष पूरा काम गर्न पाइएन । महामारीको समयमा पनि गतिविधि नरोकिकन काम गर्यौं । लिगलाई निरन्तरता दियौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना तथा सहभागिता गरयौं । क्यापासिटी बिल्डिङअन्तर्गत प्रशिक्षण र रेफ्रीका कोर्सहरु गरेका छौं,’ दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा शेर्पाले भने, ‘हामी संघमा आउँदा नीतिगत रुपमा कुनै स्पष्टता थिएन । तर हामीले फुटबल संघलाई बलियो बनाउने, संस्थागत, सामूहित र विकेन्द्रिकरण गर्ने लगायतका काम गर्यौं ।’

‘आर्थिक नियमावली थिएन । हामीले बनायौं । संघीय संरचनाका आधारमा विधान संसोधन गर्यौं’ उनले भने, ‘खेलाडी दर्ता नियमावली बनायौं । हकहितकालागि काम गर्ने, खेलाडी दर्ता नियमावली बनायौं । अनलाईन दर्ता प्रक्रिया बनायौं । हिजो लाइने लागेर गर्नुपथ्यो. । अब अनलाइनबाट हुन्छ ।’

आफ्नो कार्यकालमा क्लब लाइसेन्सिङ  लागू गरेको र यो नेपालमा नयाँ कुरा रहेको उनले बताए ।

‘फिफा र एएफसीबाट दवाव भएपछि क्ल्बलाई प्रशिक्षण गरेर एएफसी क्लब लाईसेन्स र एन्फा लाइसेन्स सिष्टम बनायौं,’ उनले भने, ‘अहिले चार क्लबको लाइसेन्स छ । कार्यलय संचालन नियमावली बनायौं । साधारण सभाव अनुसार लागु गर्ने काम गरेका छौं । कर्मचारीको वर्गीकरण थिएन । केन्द्र्रिय संरचना अनुसार एन्फाको केन्द्रिय संरचनामा ८ विभाग बनायौं । कर्माचारी सेवासुविधा र पद छुट्टाउने काम गरिरहेका छौं । यसरी कार्यलय संचालनमा छ ।’


‘जिल्लालाई संस्थागत रुपमा संचालन गर्न विधान कार्यन्वयन गर्न पारदर्शिता र व्यवस्थित गर्न प्यानमा दर्ता गरायौं, जसमा सबै जिल्लाको सहयोग पनि भयो ।’

पूर्व अध्यक्ष गणेश थापालाई संकेत गर्दै उनले भने, ‘म फुटबल छोडेपछि यसैमा टिका–टिप्पणी गर्दिन । फुटबल छोडेपछि म आफ्नो काम गरेर बस्छु । मैले घरको माली र भान्छे फुटबलको पैसा खर्च गरेर राखेको छैन ।’

आर्थिक सुशासनको फरक प्रशंगमा बोल्दै शेर्पाले थपे, ‘मैले घरको टेलिभिजन पनि एन्फाको पैसाबाट किनेको छैन । फुटबललाई घर चलाउने माध्यम बनाउनु हुन्न भन्ने मेरो भनाई हो ।’