सर्जियाे रामोस

पेरिसमा सुरुआती दिन सहज थिएनन्ः रामोस

पेरिस । स्पेनिस डिफेन्डर सर्जियो रामोसले जारी सिजन पेरिस सेन्ट जर्मन९पिएसजी०बाट ‘केही मिनेट’ मात्रै खेल्न पाएको विषयमा प्रतिक्रिया दिँदै आफूलाई फेरि सावित गर्ने बताएका छन् । गत सिजन स्पेनिस क्लब रियाल मड्रिडबाट पिएसजी सरुवा भएका रामोस चोटको शिकार हुँदा अपेक्षित प्रदर्शन दिन सकिरहेका छैनन् ।

नयाँ शहरमा गएर त्यहाँ घुलमिल हुन पनि सुरुमा समस्या भएको तर ड्रेसिङ रूमका सहकर्मीका कारण त्यो सहज हुँदै गएको रामोसले बताएका छन् ।

‘सुरुआतमा घुलमिल हुन कठिन भयो, किनभने म धेरै वर्षपछि अर्को शहरमा पुगेको थिएँ, ९स्पेनमा० सबैकुरा सहज थिए । क्लब, घर, बच्चाको स्कुल,’ रामोसले भने, ‘तर, पेरिस जस्तो भव्य शहरमा आउनु त्यति सहज थिएन । यहाँ घर भेट्टाउनै गाह्रो छ ।’

तर, पिएसजीअघि पनि आफूसँग खेलिसकेका साथीहरूले गर्दा घुलमिल हुन आफूलाई सहज हुँदै गएको रामोसले बताएका छन् ।

विशेष गरी कोस्टारिकाका गोलकिपर केलर नाभासले आफूलाई सहयोग गरेको उनले बताए । नाभास र रामोसले केही वर्ष रियालमा सँगै खेलेका थिए । सोही क्रममा उनीहरूले केही उपाधि पनि जितेका थिए । त्यसमा च्याम्पियन्स लिगको उपाधि पनि समावेश थियो ।

‘उनी मेरा भाई हुन्,’ रामोसले भने, ‘हामीबीच रियालमा पनि असाधारण र नौलो सम्बन्ध थियो । उनलाई यहाँ भेटेपछि मलाई सहज भयो ।’