सहिद स्मारक सी डिभिजन लिग

स्वयम्भु र मनोहराले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा स्वयम्भु क्लब र मनोहरा युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा स्वयम्भु र मनोहरा १–१ को बराबरीमा रोकिए ।

स्वयम्भुका अनिस महर्जनले ४८औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर, ८४औं मिनेटमा सुजन बलम्पाखी मगरले गोल गर्दै मनोहरालाई खेलमा फर्काएका थिए ।

बराबरीसँगै मनोहराले लिगमा दुई खेलबाट चार अंक जोडेको छ । यस्तै, स्वयम्भुले भने समान खेलबाट दुई अंक जोडेको छ ।

आजै भएको पहिलो खेलमा सानेपा क्लबले पुल्चोक स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको थियो । यस्तै, आजको तेस्रो खेलमा आरसी ३२ फुटबल एकेडेमी र विरगंज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुँदैछ ।