सहिद स्मारक सी डिभिजन लिग

‘सी’ डिभिजन लिग सुरु, महाविरको सुखद सुरुआत

काठमाडौं । शुक्रबारदेखि सुरु भएको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा महाविर क्लबले सुखद सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न लिगको पहिलो खेलमा महाविरले स्पोर्टस एकेडेमी साँगालाई २–१ ले पराजित गर्यो ।

सहन श्रेष्ठले २८औं मिनेटमा गरेको गोलबाट साँगाले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन ।

खेलको ५५औं मिनेटमा सुरज थारुले गोल गर्दै महाविरलाई बराबरीमा फर्काएका थिए । यस्तै, खेलको अन्तिम मिनेटमा रुमन तामाङले गोल गरेपछि महाविरले २–१ को जित निश्चित गर्यो ।

आजबाट सुरु भएको लिगमा १४ टोलीको सहभागिता छ । यसमध्ये लिगको शीर्ष दुई टोली बी डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली घटुवामा पर्ने प्रावधान छ ।

यसअघि चैत २८ गतेदेखि सुरु हुने तय भए पनि प्राविधिक कारण देखाउँदै एन्फाले लिग १० दिनपछि सारेको थियो ।