इटालियन सिरी ‘ए’

युभेन्टस लिग उपाधि होडबाट बाहिरियोः एलेग्री

रोम । मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले युभेन्टसको सिरी ‘ए’ जित्ने सम्भावना समाप्त भएको बताएका छन् ।

सिरी ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा बोलोग्नासँग नाटकीय रुपमा १–१ को बराबरीमा रोकिएपछि एलेग्रीले लिगको उपाधि दौडबाट युभेन्टस बाहिरिएको बताएका हुन् ।

खेलको ५२औं मिनेटमा १–० ले पछि परेको युभेन्टसबाट इन्जुरी समयको अन्तिम मिनेटमा डुसेन भ्लाहोभिचले गोल गरेपछि टोली हारबाट जोगिएको थियो ।

‘यो वर्ष युभेन्टसले लिगको उपाधिका लागि खेलिरहेको छैन,’ एलेग्रीले भने, ‘तर, आजको बराबरीपछि पनि हामी इन्टरसँग नजिक छौं । फुटबलमा जुनसुकै बेला जे पनि हुन सक्छ । चौथो स्थानमा रहनु अझै पनि हाम्रो महत्वपूर्ण लक्ष्य हो ।’

सिरी ‘ए’ मा ३३ खेलबाट ६३ अंक जोडेको युभेन्टस तालिकाको चौथो स्थानमा छ । जुन दोस्रो स्थानको इन्टर मिलानको भन्दा ६ अंक कम हो । यद्यपि, इन्टरले युभेन्टसभन्दा एक खेल कम खेलेको छ ।

लिगको शीर्ष स्थानको एसी मिलानले ३३ खेलबाट ७१ अंक जोडेको छ ।