एन्फा

मताधिकार लिन एन्फामा राजीनामा दिने लहर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी सरगर्मी बढिरहँदा पदाधिकारीमाझ राजीनामा दिने लहर चलेको छ । भोलिबाट बहालवाला पदमा रहेका व्यक्तिले असारमा हुने एन्फाको चुनावमा मताधिकार लिएर आउन पाउँदैनन् ।

त्यसैले, आजसम्म ११ जनाभन्दा धेरै पदाधिकारीले पदबाट राजीनामा दिएको एन्फा स्रोतले बताएको छ ।

बुधबारसम्म राजीनामा दिनेमा मानार्थ उपाध्यष शिक्षित पराजुली, सहायक महासचिवहरू भरत बुढा थापा, समी मुल्ला, बाबुकाजी बस्नेत, अरुणमान जोशी केन्द्रीय सदस्यहरू लालबहादुर ज्वार्चन र प्रविण यादव छन् ।

एन्फाको जेठ १५ गते हुने तय भएको चुनाव असार ६ गतेका लागि सारिसकेको छ । पुस २३ गते बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव जेठमा गर्ने निर्णय गरेको थियो ।

सानेपास्थित हेरिटेज गार्डेनमा भएको चुनावी विशेष साधरण सभाले निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति गठन गर्नुका साथै उम्मेद्वारको मनोनयन शुल्क निर्धारण गरेको थियो ।

पटक–पटक स्थगित भएपछि गत चैत १५ गते सम्पन्न विशेष साधारण सभाले चुनाव जेठ १५ गते नै गर्ने निर्णय गरेको थियो । तर, एन्फा सचिवालयले विशेष साधारण सभाको निर्णय उल्टाउँदै कार्यसमिति सदस्यहरू, जिल्ला र क्लबहरूलाई पठाएको ‘केन्द्रिय कार्यसमितिको निर्वाचन प्रक्रिया सम्बन्धी कार्यक्रम’मा एन्फाको चुनाव असार ६ गते गर्ने जनाएको थियो ।

जिल्ला, क्लब तथा अन्य संघहरुको निर्वाचनको हकमा भने पुरानै निर्णयलाई निरन्तरता दिइएको थियो ।