इङ्लिस प्रिमियर लिग

टोटनहमको सहज जित

लन्डन । ह्युङ मिन सनको ह्याट्रिकप्रेरित टोटनहमले शनिबार एस्टन भिल्लालाई ४-० ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको   चौथो स्थानमा अग्रता लिएको छ । 

शनिबरनै सम्पन्न खेलमा आर्सनल ब्राइटनसँग २-१ ले स्तब्ध भएपछि टोटनहमले शीर्ष चारमा अग्रता बढाउने अवसर पाएको थियो ।

३१ खेलमा ५७ अंक जोडेको टोटनहम चौथो स्थानमा छ । जुन पाँचौ स्थानको आर्सनल भन्दा तीन अंक बढी हो । यद्धपी आर्सनलले एक खेल कम खेलेको छ । 

खेलको तेस्रो मिनेटमै सनले गरेको गोलमा टोटनहमले अग्रता लिएको थियो । ५०औं मिनेटमा ह्यारी केनको पासमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोटनहमको अग्रता दोब्बर पारेका थिए । 

६६औं मिनेटमा सनले टोटनहमको अग्रता ३० मा पुर्याए । त्यसको पाँच मिनेटपछि नै सनले ह्याट्रिक पूरा गर्दा टोटनहमले सहज जितसहित चौथो स्थानको अग्रता फराकिलो पारेको हो । 

प्रिमियर लिगमा टोटनहमले जितेको यो लगातार चौथो खेल हो ।यस क्रममा एन्टोनियो कोन्टेको टोलीले तीन खेलमा मात्र १२ गोल गरिसकेको छ । 

टोटनहमले आगामी साता ब्राइटनलाई आतिथ्य गर्नेछ । एस्टन भिल्लाले भने अप्रिल २३ मा लेस्टर सिटीको सामना गर्नेछ ।