स्पेनिस ला लिगामा

अग्रता फराकिलो पार्दै रियाल

मड्रिड । गेटाफेमाथि २-० को जितसहित रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः १२ अंकको अग्रता लिएको छ । 

रियालको जितमा कासिमिरो र लुकास भाजक्युजले समान एक गोल गरे । 

गत साता च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा चेल्सीविरुद्ध उतारेको टोलीमा रियालका प्रशिक्षक कार्लो एन्सेटोट्टीले चार खेलाडी परिवर्तन गरेका थिए । करिम बेन्जेमाको ह्याट्रिकप्रेरित सो खेलमा रियालले ३-० को जित निकालेको थियो ।

यस क्रममा एन्सेलोट्टीले ड्यानी कार्भाहाल, फेर्लान्ड मेन्डी, टोनी क्रुज र लुका मोडरिचलाई आराम दिएका थिए । 

खेलको चौथो मिनेटमै बेन्जेमाले गरेको गोल पनि अफसाइड भएको भन्दै सो गोलले मान्यता नपाउँदा रियाल निराश बनेको थियो ।

३८औं मिनेटमा कासिमिरोले गोल गर्र्दै रियालाई अघि बढाएका थिए । ६८औं मिनेटमा भाजक्युजले रियालको अग्रता दोब्बर पारे । 

३१ खेलमा ७२ अंक जोडेको रियाल शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको सेभिया भन्दा १२ अंक बढी हो ।। तेस्रो स्थानको बार्सिलोना र चौथो स्थानको एट्लेटिकाको समान ५७ अंक रहेको छ । 

बार्सिलोनाले अन्य टोली भन्दा दुई खेल कम खेलेको छ ।

रियालले मंगलबार च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेगमा चेल्सीलाई आतिथ्य गर्नेछ भने आगामी आइतबार ला लिगामा सेभियाको सामना गर्नेछ ।