नेपाली राष्ट्रिय फुटबल टोली

चोनबुरीसँग ३–१ ले हार्यो नेपाल

काठमाडौं । थाइल्यान्डको शीर्ष डिभिजनको क्लब चोनबुरी एफसीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ३–१ गोलको नतिजामा पराजित भएको छ । दुई मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमणमा रहेको नेपाली टोली बिहीबार थाइल्यान्डसँग २–० गोलको नतिजामा पराजित भएको थियो ।

आइतबार भएको खेलमा पनि नेपालले पराजित हुनुपर्यो । थाइल्यान्डका लागि फान्थामित प्रफानात, रेनाटो केलिच र नाटापोङले एक–एक गोल गर्दा नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए ।

प्रनानाथले ३०औं मिनेटमा गोल गर्दै चोनबुरीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाएर एक गोल फर्कायो । केलिचले ६६औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । नेपालका लागि सब्स्टिच्युट खेलाडी दर्शनले इन्जुरी समयको चौथो मिनेटमा एक गोल फर्काएका थिए ।

यद्यपि, त्यसको एक मिनेट नबित्दै नाटापोङले गरेको गोलसँगै थाइल्यान्डले ३–१ को जित दर्ता गर्यो ।

मछिन्द्र फुटबल क्लबसँग अनुबन्धित नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू बिना नै नेपाल थाइल्यान्ड भ्रमणमा गएको हो । एएफसी एसिया कपको छनोटको तयारीमा रहेकाले मछिन्द्रका खेलाडीहरूलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टोलीमा बोलाएका थिएनन् ।