सहिद स्मारक ‘बी’ डिभिजन लिग

नयाँबस्तीले आरसिटीलाई हरायो

फाइल फाेटाे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत सोमबारको तेस्रो खेलमा नयाँबस्ती युथ क्लबले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई १–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नयाँबस्तीका लुनाबहादुर थापामगर खेल सकिन पाँच मिनेट बाँकी रहँदा निर्णायक गोल गरे ।

जितसँगै नयाँबस्तीले लिगमा सात खेलबाट १३ अंक जोडेको छ । नयाँबस्तीले लिगका तीन खेलमा जित र चार खेलमा बराबरीको नतिजा निकालेको छ ।

यस्तै, समान खेल खेलेको आरसिटीले नौ अंक जोडेको छ । आरसिटीले दुई खेलमा जित, तीनमा बराबर र दुई खेलमा हारको नतिजा आत्मसाथ गरेको छ ।

आजै भएको पहिलो खेलमा सामाजिक युथ क्लबले झम्सिखेल युथ क्लबलाई र दोस्रो खेलमा मध्यपुर युथ एसोसियसनले खुमलटार युथ क्लबलाई समान १–० ले पराजित गरेको थियो ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्येका शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुँदा पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन् ।