सहिद स्मारक ‘बी’ डिभिजन लिग

श्री भगवतीको पहिलो हार

काठमाडौं । श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो हार बेहोरेको छ । लिगअन्तर्गत मंगलबारको दोस्रो खेलमा श्री भगवती रानीपोखरी कर्नर टिम (आरसिटी) सँग ३–० ले पराजित भयो ।

जितसँगै पाँच खेलबाट आठ अंक जोडेको आरसिटी तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट १० अंक जोडेको श्री भगवती तालिकाको तेस्रो स्थानमा छ ।

आरसिटीको जितमा प्रज्वल गुरुङले दुई र साहिल केसीले एक गोल गरे ।

खेलको २६औं मिनेटमा प्रज्वलको गोलमा आरसिटीले अग्रता बनाएको थियो । यस्तै, ४०औं मिनेटमा साहिलले आरसिटीको अग्रता दोब्बर पारे ।

खेलको इन्जुरी समयमा प्रज्वलले आरसिटीबाट तेस्रो गोल गरेसँगै क्लबले श्री भगवतीमाथि सहज जित निश्चित गर्यो ।

यसअघि आजै भएको पहिलो खेलमा सरस्वती युथ क्लबले मध्यपुर युथ एसोसियसनलाई २–१ ले पराजित गरेको थियो ।