स्पेनिस ला लिगा

बेन्जेमाको चोट चिन्ताजनक नरहेको एन्सेलोट्टीको प्रतिकृया

मड्रिड । रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले स्ट्राइकर करिम बेन्जेमाको चोट चिन्ताजनक नभएको प्रतिकृया दिएका छन् ।

स्पेनिस ला लिगाअन्तर्गत सोमबार मार्योकाविरुद्ध ३–० को जित निकाल्दा बेन्जेमाको तिघ्रामा समस्या देखिएको छ । मार्योकाविरुद्ध बेन्जेमा चोटका कारण खेलको ८५औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

बेन्जेमाले मैदान छोड्नअघि नै पाँच सब्स्टिच्युटको कोटा पूरा गरिसकेकाले रियालले त्यसपघि १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो ।

‘हामीले बेन्जेमालाई केही दिन निगरानीमा राख्नुपर्ने देखिएको छ । यद्यपि, समस्या त्यती चिन्ताजनक देखिएको छैन,’ एन्सेलोट्टीले भने, ‘बेन्जेमाले जम्प गर्दा सहज महसुस गरेका थिएनन् । हामीले उनको चोटबारे अझ थाहा पाउन बुधबारसम्म पर्खिन आवश्यक छ ।’

मड्रिडको जितमा दुई गोल गरेका बेन्जेमाले यो सिजन ला लिगाका २५ खेलमा २२ गोल गरिसकेका छन् ।