एनएसएल

एनएसएल: पोखराका मुख्य प्रशिक्षक नवीन

काठमाडौं । आसन्न नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि पोखरा थन्डर्सले नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । पोखराले बिहीबार नै राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठलाई भित्र्याएको थियो । गत सिजन अक्सनबाट सुजललाई भित्र्याए पनि पोखराले चोटका कारण उनलाई टिम म्यानेजरको जिम्मेवारी दिएको थियो ।

गत सिजन पारिवारिक समस्याका कारण मुख्य प्रशिक्षक भएर पनि नवीनले पूरा समय पोखरालाई दिन पाएका थिएनन् । उनको अनुपस्थितिमा सहायक प्रशिक्षक राजेश शाहीले टोलीको नेतृत्व गरेका थिए । हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबलाई दोस्रो बनाएका नवीनलाई सामाजिक सञ्जाल मार्फत पोखराले बिहीबार सार्वजनिक गरेको हो ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली (एनइएसएम)को आयोजनामा चैत २६ गतेदेखि सुरु हुने एनएसएलका लागि अहिले धमाधम मार्की खेलाडी भित्र्याइरहेका छन् । बिहीबार नै साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले विकेश कुथु र विराटनगर सिटी एफसीले रन्जित धिमाललाई सार्वजनिक गरेका थिए । यस्तै झापाले अञ्जन विष्टलाई सार्वजनिक गरिसकेको छ ।

गत सिजन पोखराले नवयुग श्रेष्ठलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेका थियो । यद्यपि, भने लगातार दोस्रो पटक मछिन्द्र फुटबल क्लबलाई सहिद स्मारक ए डिभिजन लिगको उपाधि दिलाउन टोलीको कप्तानी गरेका सुजललाई पोखराले चुनेको छ ।

एनएसएलका लागि करिब एक महिना बाँकी छ भने त्यसका लागि एनइएसएमले शुक्रबार खेलाडीको अक्सन गर्दैछ ।