सहिद स्मारक ‘ए’ डिभिजन लिग

शुक्रबारदेखि लिगको १०औं चरण: के भन्छन् प्रशिक्षक ?

काठमाडौं । 'फिफा डे'का कारण एक महिना रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको दशौं चरणका खेलहरू शुक्रबारदेखि सुरू हुँदैछन् । पहिलो खेलमा फ्रेन्ड्स क्लब र बिग्रेड ब्वाइज क्लब आमने सामने हुँदैछन् ।

लिग तालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लब भोलिको खेलमा पराजित भए रेलिगसनमा पर्ने करिब निश्चित छ । त्यसैले हालसम्म लिगमा जितविहीन रहेको फ्रेन्ड्सले जितका लागि कुनै कसर बाँकी राख्ने छैन । नवौं चरण सकिँदा ६ हार र तीन बराबरीको नतिजा निकालेको फ्रेन्ड्स कप्तान प्रकाश बुढाथोकी बिना नै मैदान उत्रँदैछ ।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले भोलि जितका लागि खेल्ने बताए ।

खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षकहरूको भनाई:

फ्रेन्ड्सविरुद्ध ब्रिगेड

मृगेन्द्र मिश्र (फ्रेन्ड्स क्लब)

बिबिसीविरुद्धको खेल महत्वपूर्ण छ । भोलि हामी जितका लागि नै खेल्ने तयारीमा छौं । हाम्रो मनसाय त्यो नै हो । हार्यो भने त ९९ प्रतिसत रेलिगेसन हो । जसरी पनि जित्नुपर्ने छ । कप्तान ठीक भएको छैन । एक दुई जना नयाँ खेलाडी छन् । यु १० मा खेलिसकेका खेलाडी छन् । फ्रेन्ड्स रेलिगेसनबाट बच्नका लागि जितको विकल्प छैन । लिग रोकिएको १४ दिनपछि अभ्यास गरेका थियौं । खेलाडी रिकभर हुने समय पनि मिल्यो ।

समिर विष्ट (ब्रिगेड ब्वाइज क्लब) सहायक प्रशिक्षक

फ्रेन्ड्स क्लबविरुद्धको खेल फाइनल सहर नै महत्वपूर्ण छ । यो खेलको लागि तयारी राम्रो छ । तयारीका लागि लामो समय थियो । प्रदर्शन सुधार भएको छ । जितबाहेक अन्य विकल्प छैन । विपक्षी टोली बलियो भएको छ । फ्रेन्ड्सले नयाँ अनुहार उतारिरहेको छ । यो खेलमा पनि होलान् । स्टाइल अफ प्ले राम्रो छ । हाम्रो कमी कमजारी औंल्याएका छौं । हामीले कसरी जाने भनेर टिम बनाएर योजना बनाएका छौं ।

जावलाखेलविरूद्ध त्रिभुवन आर्मी फुटबल क्लब

किशोर केसी (जावलाखेल युथ क्लब)

आर्मी बलियो टोली हो । हाम्रो पनि तयारी राम्रो छ । अभ्यास सुरु गरेको १० दिन भयो । अभ्यास राम्रो भएको छ । हामी आर्मीसँग राम्रो प्रतिस्पर्धा गर्छौ । जति खेलाडी छन्, उनीहरुलाई प्रेरणा दिएर अघि बढ्ने हाम्रो सोच छ । नयाँ खेलाडी भित्र्याउने लक्ष्य छैन ।

राजु तामाङ (आर्मीका सहायक प्रशिक्षक)

हाम्रो तयारी राम्रो छ । नवौं चरणपछि विश्राम मिलेकाले खेलाडीको इनर्जी बढेको छ । पोखरा(आहा रारा गोल्डकप)मा राम्रो गर्न सकेनौं । तर, अहिले टिम लयमा छ । घाइते खेलाडी सन्तोष तामाङ ठिक भएको छ । रिहाब पनि भएको छ । दिनेश हेन्जनको ब्याक इन्ज्युरीको शल्यक्रियापछि विश्राममा छन् । जावलाखेल राम्रो टोली हो । लिगमा जावलाखेलले कठिन चुनौती दिइरहेको छ । शीर्ष तीनमा पर्नका लागि भोलिको खेल महत्वपूर्ण छ । बाँकी खेलमा १०० प्रतिशत निकाल्ने योजनामा छौं ।