नेपाल खेलकुद अनुसन्धान तथा प्रबर्धन प्रतिष्ठान

नेस्पोले वैज्ञानिक खेलकुद अनुसन्धान तथा प्रवर्द्धनमा सहयोग गर्ने

धनगढी । नेपाली खेलकुदमा वैज्ञानिक अनुसन्धान तथा खेलकुदलाई प्रवर्धन गर्ने उदेश्यसहित नेपाल खेलकुद अनुसन्धान तथा प्रबर्धन प्रतिष्ठान (नेस्पो) गठन भएको छ ।

सुदूरपश्चिम खेलकुद विकास समितिका पूर्वअध्यक्ष साम्राज्यविक्रम पाण्डेको अध्यक्षतामा गठित नेस्पोमा खेलकुदसँग सरोकार राख्ने व्यक्ति तथा संस्थाहरुको संग्लनता रहेको छ ।

धनगढी एफसीका सञ्चालक सुवास शाही, कैलाली ब्याडमिन्टन संघका पूर्वअध्यक्ष महेश शाह, संघका पूर्व कोषाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, हिमालय कलेजकी निर्देशक संगीता सिलवाल, खेल अभियान्ता विकास सिंह, कोरियाको कोइमुङ विश्वविद्यालयका प्राध्यापक डा. सिद्धार्थविक्रम पाण्डेलगायत संस्थामा आवद्ध छन् ।

‘जराबाट ओलम्पिक’ भन्ने मुल नारा रहेको संस्थाले खेलकुदमा समयसापेक्ष वैज्ञानिक तरिकाले अनुसन्धानात्मक र खेलविज्ञानको मर्मअनुसार विश्व खेलजगतसँग प्रतिस्पर्धी खेलाडी उत्पादनमा सरकारी तथा गैरसरकारी संस्था हरुसँग हातेमालो गर्दै अघि बढ्ने संस्थाको उदेश्य रहेको अध्यक्ष पाण्डेले बताए ।

नेस्पोले प्रचलित विभिन्न खेलकुदका साथै पर्वतीय तथा पर्यटकीय खेलकुदसमेतको अनुसन्धान, प्रबर्धन तथा प्रदर्शनमा सहयोग पुर्याउने, खेलकूद सम्बन्धि पाठ्य सामाग्रीहरु प्रकाशन÷प्रशारण÷ वितरण कार्य गर्ने लक्ष्य राखेको छ । यस्तै, प्रतिभावान खेलाडीहरुको पहिचानगरि खेलकुदको मूल प्रवाहमा ल्याउने, वैज्ञानिक तरिकाले ग्रासरुटका खेलाडी उत्पादनमा सघाउ पुर्याउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलबिज्ञ संग्लग्न गराई नियमित सेमिनार, गोष्ठी तथा तालिमको आयोजना गर्ने संस्थाको लक्ष्य छ ।

आर्थिक कारणले पछाडी परेका प्रतिभाशाली खेलाडीहरुलाई पहिचान गरी भौतिक तथा आर्थिक सहयोगका लागि विभिन्न निकाय संग पहल गर्दै सहयोग जुटाउने र स्वदेश तथा विदेशमा तालिमको लागि पहल गर्ने, मुलुक भित्र र मुलुक बाहिर रहेका नयाँ पुराना अनुभवी खेलविज्ञ, खेलकर्मीहरुको सञ्जाल बनाई मुलुकको खेल विकाशमा लाग्ने बातावरण बनाउने काम गर्ने लक्ष्य रहेको संस्थाका बोर्ड सदस्य तथा प्राध्यापक पाण्डेले बताए ।

संस्थाले दुई वर्षको अन्तरालमा विश्वस्तरीय खेलकुदविज्ञहरुलाई निमन्त्रणगरी अन्तर्राष्ट्रिय सम्मेलन को आयोजना गर्ने उदेश्य लिएको छ । त्यसबाहेक खेलकुदको माध्यमबाट देशको नाम उँचो पार्न लागिपरेका वा मुलुकभित्र खेलकुद बिकासमा समर्पित खेलाडी, प्रशिक्षक, खेलपत्रकार, खेलप्रबर्दक खेलविज्ञ, खेलप्रायोजक, सहयोगी संस्था, खेल नीतिनिर्माताहरुका साथै नेपालमा खेलको विकासमा योगदान पुर्याउने स्वदेशी वा विदेशी व्यक्तिहरूलाई निश्चित मापदण्ड तयारगरी सम्मान गर्ने उदेश्यसमेत संस्थाले लिएको छ ।

नेस्पोले एकवर्षभित्र गर्ने कार्यको सुचीसमेत सार्वजनिक गरेको छ । कार्यसुचीअनुसार एक वर्षभित्र संस्थाको सांगठनिक संरचनालाई मजबुत बनाउने, विदेसी खेल प्रशिक्षक भित्र्याउन चाहने खेलसंघहरुलाई सहजीकरण गर्ने, प्रत्येक महिना खेल प्रशिक्षक र प्रशिक्षक बन्न इच्छुक व्यक्तिलाई विज्ञद्धारा प्रशिक्षणको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय खेलसम्मेलन गर्ने, खेल बिज्ञान विषयमा अध्ययन गर्न इच्छुक विधार्थीहरुलाई आबश्यक सुझाव तथा सहजीकरणमा सहयोग गर्नेछ ।